काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजलाई ५५ रनले हराएको छ । आइतबार पोखराले बनाएको कीर्तिमानी २२४ रनको जवाफमा काठमाडौँ १६९ रनमा अलआउट भयो । यो हारसँगै अंकतालिकामा तेस्रो भएको काठमाडौँले बुधबार चितवन राइनोजसँग एलिमिनेटर खेल्ने भएको छ ।
साविक विजेता लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम रोयल्स १० अंकसहित दोस्रो भयो । यी दुई टोली मंगलबार पहिलो क्वालिफायरमा भिड्नेछन् । काठमाडौँले सात खेलबाट आठ अंक जोड्यो । यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको पोखराले दोस्रो जितसँगै चार अंक जोडेर सातौँ स्थानमा लिग टुंग्यायो ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२४ रन बनाएको थियो । यो एनपीएलमा कुनै टोलीले एकै इनिङ्समा बनाएको अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो ।
अर्जुन कुमाल पाँच रनमा आउट भएपछि कुशल भुर्तेल र युवराज सिंह सम्राले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरे । भुर्तेलले ५१ बलमा आठ चौका र आठ छक्कासहित ९९ रन बनाए । सम्राले ५५ बलमा आठ चौका र पाँच छक्कासहित ८९ रन जोडे । काठमाडौँका कप्तान करण केसीले दुवैलाई १९औँ ओभरमा आउट गरे । पोखराका कप्तान चमिका करुणारत्नेले सात बलमा अविजित १९ रन बनाए ।
भुर्तेल र सम्राको साझेदारीले पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनीविरुद्ध बनाएको अविजित १७६ रनको कीर्तिमान तोड्यो । यसअघि कर्णाली याक्सविरुद्ध २१७ रन बनाएको पोखरा एनपीएलको एउटै संस्करणमा दुई पटक २०० रन पार गर्ने पहिलो टोली पनि बन्यो ।
२२५ रनको लक्ष्य पछ्याउँदा काठमाडौँले दोस्रो ओभरमै भीम शार्कीलाई गुमाएको थियो । स्मित पटेल र विलियम बोसिस्टोले दोस्रो विकेटका लागि ६० रन जोडे । खरेलले ३४ रन बनाएका पटेल र २६ रन बनाएका बोसिस्टोलाई आउट गरेपछि काठमाडौँले ८६ रनमै पाँच विकेट गुमायो ।
रासिद खान र जहानदाद खानले ४४ रनको साझेदारी गरे पनि काठमाडौँ लक्ष्यसम्म पुग्न सकेन । रासिदले ३१ र जहानदादले २४ रन बनाए । अन्तिम ओभरमा सम्रालाई लगातार चार छक्का प्रहार गरेका सोनु देवकोटा २९ रनमा अन्तिम विकेटका रूपमा आउट भए ।
पोखराका खरेलले चार ओभरमा १८ रन खर्चेर चार विकेट लिए । बिपिन खत्रीले चार ओभरमा २८ रन दिएर तीन विकेट लिँदा रमेश मेन्डिस, सन्नी विक र सम्राले एक-एक विकेट लिए ।





