काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारसँग सभामुख डीपी अर्यालले सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरमा भेट गरेका छन् । उनले पीडित परिवारलाई राहत उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहसँग पहल गर्ने प्रतिबद्धता जनाए ।
शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै सभामुख अर्यालले यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक कदम चालिने बताए । भेटमा परिवारका सदस्यले दुर्घटनापछि भोग्नुपरेका समस्या तथा राहत र पुनर्स्थापनाको आवश्यकताबारे सभामुखलाई आफ्नो कुरा राखेका थिए ।
सभामुखसँगै सर्लाही–१ की प्रतिनिधिसभा सदस्य नितिमा कार्की, सर्लाही-२ का रविन महतो, सर्लाही-३ का नरेन्द्र साह कलवार र पर्साबाट निर्वाचित सांसद रहबर अन्सारी सुन्दरपुर पुगेका थिए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी पनि भेटमा सहभागी थिए ।
छठ मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको विद्युतीय माइक्रोबस २६ कात्तिकमा मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनामा सुन्दरपुरको एउटै टोलका १३ जनासहित १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए ।
पर्सा र बाराको भ्रमण तथा छठ पर्वमा सहभागी हुन सभामुख अर्याल २८ कात्तिकमा मधेश आएका थिए । यसअघि आइतबार नेपाली काँग्रेसका सभापति गगन थापाले पनि सुन्दरपुर पुगेर दुर्घटनामा आफन्त गुमाएका परिवारसँग भेट गरेका थिए ।






