काठमाडौँ । लालझाडी गाउँपालिका-६ चान्देउबाट प्रहरीले १९.६८० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१६ का २५ वर्षीय डेविट चौधरी र ३४ वर्षीय नरेन्द्र डगौला छन् ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार ब्युरोको धनगढी शाखाबाट खटिएको टोलीले ३० कात्तिकमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू लागुऔषध किनबेच गरिरहेको अवस्थामा भेटिएको ब्युरोले जनाएको छ ।
प्रहरीले उनीहरूबाट दुई थान मोबाइल र एउटा मोटरसाइकल पनि बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको ब्युरोले जनाएको छ ।






