मोरङ । मोरङको रंगेली नगरपालिका-४ चोप्राहा बोर्डरबाट २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार-२ मुस्लिम टोलका ४५ वर्षीय रघुनाथ पासवान, उनकी अन्दाजी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र उनीहरूका अन्दाजी १८ वर्षीय छोरा करण पासवान रहेका छन्।
प्रहरीका अनुसार हिजो बेलुकी ७:५० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई चेकजाँच गरेको थियो।
सोही क्रममा सकुन्तला पासवानले आफ्नो दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाइछिपाई राखेको अवस्थामा २९ ग्राम ४८० मिलिग्राम तौलको खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
तीनै जनालाई बरामद लागू औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






