काठमाडौँ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा करको दायरा विस्तार, करदाता शिक्षा र डिजिटल कर सेवाको प्रयोग बढाउने उद्देश्यले साताव्यापी कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रमको पहिलो दिन आन्तरिक राजस्व विभागमा आयोजित समारोहमा विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ ।
‘कर न्याय र सुशासनको सुनिश्चितता: समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित सुरु भएको कार्यक्रमअन्तर्गत प्रभातफेरी, शुभकामना आदानप्रदान, निजी क्षेत्रसँग अन्तरक्रिया र करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । विभाग मातहतका कार्यालयले आ-आफ्नो क्षेत्रका तीन-तीन करदातालाई सम्मान गर्नेछन् ।
साताव्यापी कार्यक्रमका क्रममा करसम्बन्धी योजना कार्यान्वयन, डिजिटल कर सेवाको प्रयोग र कारोबारमा बिल लिने-दिने अभ्यासबारे प्रचारप्रसार गरिनेछ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कर सचेतनासम्बन्धी सूचना बोर्ड राखिनेछन् ।
शैक्षिक परामर्शदाता तथा ओभरसिज कम्पनीलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिनेछ । उद्योग वाणिज्य संघसँगको सहकार्यमा कर सचेतना अभियान चलाइनेछ भने स्थानीय तह र कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई राजस्वसम्बन्धी प्रशिक्षण दिइनेछ ।
सरकारले कर प्रशासनलाई सरल, पारदर्शी, प्रविधिमैत्री र भ्रष्टाचारमुक्त बनाउने तथा नागरिकले आफूले तिरेको करको प्रतिफल अनुभूत गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।





