हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले राजस्व परिचालन र सूचना आदानप्रदानमा प्रदेश र स्थानीय तहबीच सहकार्य बढाउनुपर्ने बताएका छन् । उनले दुवै तहको वित्तीय क्षमता बढाएर सार्वजनिक खर्चलाई प्रभावकारी बनाउन सके संघीयताको लाभ नागरिकसम्म पुग्ने बताए ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आन्तरिक राजस्व कार्यालय मकवानपुरले मंगलबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापा मगरले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक अधिकारको बाँडफाँडसँगै वित्तीय अधिकार, स्रोत परिचालन र खर्च गर्ने क्षमता पनि आवश्यक रहेको बताए ।
उद्योग, व्यापार, पर्यटन र कृषिलाई उत्पादन तथा रोजगारीसँग जोडेर प्रदेशको आन्तरिक राजस्वको आधार फराकिलो बनाउनुपर्ने उनको भनाइ थियो । उनले युवालाई स्वदेशमै काम, उद्यम र सम्मानजनक आम्दानीको अवसर सिर्जना गर्न उत्पादनशील क्षेत्रमा लगानी बढाउनुका साथै सूचना प्रविधि र नवप्रवर्तनमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताए ।
निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा अघि बढाउन उद्योगी तथा व्यवसायीलाई सुरक्षा र नीतिगत स्थिरताको प्रत्याभूति दिनुपर्नेमा पनि मुख्यमन्त्री थापा मगरले जोड दिए । कर प्रणाली सरल, पारदर्शी, पूर्वानुमानयोग्य र लगानीमैत्री बनाउँदै कर छली, राजस्व चुहावट र आर्थिक अनियमिततामा कडाइ गर्नुपर्ने उनले बताए ।
डिजिटल अर्थतन्त्र विस्तारसँगै कर तिर्ने प्रक्रिया प्रविधिमैत्री र सहज बनाउनुपर्ने उनको भनाइ थियो । उनले कर कार्यालयले करदातालाई सेवा र सहजीकरणमा प्राथमिकता दिनुपर्ने बताए ।
मुख्यमन्त्री थापा मगरले उत्पादन, रोजगारी र लगानी बढाएर राजस्वको दायरा विस्तार गर्ने तथा सार्वजनिक खर्चलाई परिणाममुखी बनाउने प्रदेश सरकारको प्राथमिकता रहेको बताए । उनले बढी आर्थिक क्षमता भएका व्यक्ति तथा संस्थाले सोहीअनुसार योगदान गर्ने र न्यून आय भएका नागरिकमाथि अनावश्यक भार नपर्ने गरी कर प्रणालीलाई न्यायोचित बनाउनुपर्नेमा जोड दिए ।





