पाँच दिनमा ११५ डेरी व्यवसायको अनुगमन गरी संकलन गरिएका १२९ नमुनामध्ये ५४ वटाको परीक्षण प्रतिवेदन सार्वजनिक ।
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर परीक्षण गर्दा नौ वटा नमुनाको नतिजा प्रतिकूल पाएको छ ।
विभाग र मातहतका कार्यालयबाट संकलित १२९ नमुनामध्ये हालसम्म ५४ वटाको विश्लेषण सम्पन्न भएको छ । परीक्षण प्रतिवेदनअनुसार गाई, भैँसी र मिश्रित दूधका तीन-तीन वटा नमुनाको नतिजा प्रतिकूल देखिएको हो ।
विभाग तथा मातहतका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरूले पाँच दिनको अवधिमा ११५ डेरी पसल तथा व्यवसायको अनुगमन एवं निरीक्षण गरी दूध र दुग्धजन्य पदार्थका नमुना संकलन गरेका थिए ।
संकलित नमुनामध्ये खुला मिश्रित दूधका ७४, भैँसीको खुला दूधका १३ र गाईको खुला दूधका सात वटा छन् । त्यसैगरी दहीका ३१, पनिरका तीन र खुवाको एउटा नमुना संकलन गरिएको विभागले जनाएको छ ।
दूध तथा दुग्धजन्य पदार्थमा चिल्लो पदार्थ (फ्याट), चिल्लोबाहेकका ठोस पदार्थ (एसएनएफ) र मिसावटको अवस्थालाई आधार बनाएर विश्लेषण गरिएको विभागको भनाइ छ ।
परीक्षणका लागि संकलन गरिएका बाँकी नमुनाको विश्लेषण भइरहेको विभागले जनाएको छ ।







