दुनै,डोल्पा । डोल्पामा पहिलो पटक सरकारी नम्बर भएको गाडी भित्रिएको छ । भौतिक पूर्वाधार कार्यालय डोल्पाले पहिलो पटक सरकारी नम्बर प्लेट भएको गाडी जिल्लामा पुर्याएको हो ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले २७ लाखमा खरिद गरेको बोलेरो जिप तुइन तारेर भौतिक पूर्वाधार कार्यालयले डोल्पा पुर्याएको छ ।
सुर्खेतबाट तल्लु,खदाङ,त्रिपूराकोटको भेरी नदीमा तुइनमा तारेर जिप ल्याएको भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख इन्जिनियर योगेन्द्र धरालाले जानकारी दिए । जाजरकोट र रुकुमको तल्लुमा ५० हजार, डोल्पाको खदाङमा ४० हजार र त्रिपूराकोट बगरमा ६० हजार गरेर झन्डै दुई लाख बराबर रकम खर्च गरेर कार्यालयको गाडी डोल्पा ल्याएको धरालाले बताए ।
अघिल्लो मङ्सिरमा औपचारिक रूपमा डोल्पामा राष्ट्रिय सडकमा जोडेको घोषणा गरेको सरकारले बिचबिचमा पुल नहालिदिँदा यात्रुले सास्ती भोग्नु परेको छ । जाजरकोट देखी डोल्पाको दुनै सम्म आउन गाडीमा कम्तीमा पनि ५ ठाउँमा पल्टी गर्नु पर्ने बाध्यता रहेको यात्रुहरु बताउँछन् ।
सडकले जोडिएको भनेसँगै सबै भन्दा पछि जिल्लामा स्थापना भएको भौतिक पूर्वाधार कार्यालयले आफ्नै गाडी ल्याएको हो । उक्त गाडी जिल्लामा पुगेसँगै अन्य सरकारी कार्यालयले समेत गाडी ल्याउने तयारी थालेका छन् ।
डोल्पाका सरकारी कार्यालयका बाइकहरू भने अहिले पनि नेपालगन्ज सुर्खेतमा चलि रहेका पाइन्छ । तर भौतिक पूर्वाधार विकास कार्यालयले विभिन्न दुखका साथ गाडी डोल्पामा पुर्याएपछि अन्य सरकारी कार्यालयलाई समेत बाध्यता आएको छ ।
सरकारले डोल्पामा सडक पुगेको भनेर घोषणा गरे पनि सहरबाट सिधा यात्रा भने गर्न कठिन रहेको छ । विभिन्न ठाउँमा पल्टी गर्नुपर्ने भाडा दर यकिन नहुनु,सुरक्षाको कम अनुभूति हुनुले पनि मानिसहरू पैदल यात्रा गर्न मान्दैनन् ।











