जनकपुरधाम । क्रसर व्यवसायी विपिन महतो पक्राउ परेका छन् । मिल्स एरियास्थित ससुराली घरबाट शनिबार बिहान उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिए ।
अवैध उत्खनन् मार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका दिलिप महतोको मृत्युको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यका अनुसार क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए ।
सम्बन्धित समाचार : अवैध गिट्टी बालुवा उत्खनन्को विरोध गर्ने युवकको टिपरले किचेर हत्या
धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा शुक्रबार टिपरले किचेर दिलिपको हत्या गरिएको थियो ।
महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यहीँ उनीमाथि ना ७ ख ६४१३ नम्बरको टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।







