काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । मंगलबार राति नयाँबानेश्वरको आलोकनगरमा उनको शंकास्पद मृत्यु भएको हो ।
डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि राति १० बजेतिर सिभिल अस्पताल पुर्याइएको थियो । उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको
महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
उनले घटनाबारे अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताए ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने बताउँदै अनुसन्धानका क्रममा होटल सञ्चालक र कर्मचारी ४ जनालाई नियन्त्रणमा लिइएको बताए ।
गिरीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिए छ ।
उनी मंगलबार बिहान ९ बजेदेखि नै उक्त होटलमा बसेका र दिनभर मदिरा सेवन गरेका कारण उनी राति घर फर्किन सक्ने अवस्थामा नरहेको उनी निकट स्रोतले बतायो ।
गिरी दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकारसमेत थिए ।







