काठमाडौँ । जेन जेड अभियन्ता रक्षा बमले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेको घटनालाई लिएर सरकारको जवाफदेहितामाथि प्रश्न उठाएकी छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बमले प्रेसमाथि प्रहरी हस्तक्षेप भएको घटनाबारे सरकारलाई जानकारी नभएको भन्ने विषयप्रति आपत्ति जनाएकी हुन्।
उनले सरकारलाई घटनाबारे जानकारी नभएको भनाइप्रति प्रश्न गर्दै राज्य सञ्चालनको जिम्मेवारी र सुरक्षा निकायबीचको समन्वयबारे स्पष्ट जवाफ मागेकी छन्।
‘प्रहरीले प्रेसमाथि धावा बोलेको घटनाबारे “सरकारलाई कुनै जानकारी छैन रे”। अनि जानकारी कसलाई हुन्छ त ? केपी ओलीलाई कि रमेश लेखकलाई ?’ बमले लेखेकी छन्।
उनले सरकारलाई जबाफदेहिताको प्रश्नसमेत गरेकी छन्। ‘जवाफदेहिता भन्ने शब्द सुन्नुभएको छ, सरकार ?’ भन्दै उनले राज्यका जिम्मेवार निकायबीचको सम्बन्ध र कार्यसम्पादनप्रति असन्तुष्टि जनाएकी छन्।
बमले सरकार र सुरक्षा निकायबीच आवश्यक समन्वय नभएको तथा राज्यका संयन्त्रहरूबीच विश्वास र सहकार्यको सट्टा शक्ति संघर्ष देखिएको टिप्पणी गरेकी छन्।
‘सुरक्षा निकायसँग कुनै समन्वय छैन, कसैले कसैलाई टेर्दैन। राज्यका संयन्त्रहरूबीच विश्वास र सहकार्यको सट्टा शक्ति संघर्ष देखिन्छ। आखिर देश कसरी चलिरहेको छ ?’ उनले प्रश्न गरेकी छन्।
उनले सरकार र सुरक्षा निकायबीचको असमझदारी सार्वजनिक रूपमा प्रकट भएको दाबीसमेत गरेकी छन्। बमले राज्यका सबै पदाधिकारी र निकाय संविधानको अधीनमा रहनुपर्ने विषय पनि उठाएकी छन्।
‘यो देशमा कोही पनि संविधानभन्दा माथि छैन, चाहे बालेन होउन् वा दानबहादुर,’ उनले लेखेकी छन्।




