काठमाडौं । महामारीको रुपमा विश्वभरी फैलिएको नोभेल कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई सहयोग गर्ने नेपालले प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल सरकारले कोभिड–१९ विरुद्ध संघर्षरत चीनलाई आफ्नो बलियो साथ रहेको नेपालले जनाएको हो ।
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी वाङ यीसँग सोमबार टेलिफोन सम्वाद गरेका थिए । मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्ध लडिरहेको छिमेकी चीनलाई नेपालको बलियो साथ रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोमबार समकक्षी वाङ यीसँग टेलिफोन सम्वाद गर्नु भएको छ’, मन्त्रालयले भनेको छ, ‘समकक्षीसँगको सम्वादका क्रममा उहाँले कोरोना भाइरसविरुद्धको संघर्षमा नेपालको साथ र सहयोग रहने बताउनुभएको छ ।’
त्यसक्रममा विदेमन्त्री वाङ यीले एक साताअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री ओलीलाई एक सन्देश पठाएर स्वास्थ्य लाभको कामना गरेका थिए।
चीनमा कोरोनाबाट अहिलेसम्म तीन हजार एक सय १२ जनाले ज्यान गुमाइसकेका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका १०३ मुलुकमा पुगिसकेको छ। कोरोनाकै कारण नेपालले चीनसँग जोडिएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका बन्द गरिदिएको छ।