काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले डा. बाबुराम भट्टराईले कागजमा राखिएको ठाउँबाट नाम हटाएर तल राख्नाले राजनीतिक उचाई बढेको बताएका छ । थापाले बाबुरामको बरियता र राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएका
कागजले नगर्ने बताएका हुन् ।
अध्यक्ष थापाले डा. भट्टराईको लामो समयको राजनीतिक संघर्षले समाजमा उनको स्थान कायम भइसकेको भन्दै एकता गर्दा नाम तल राख्न मानेर बरु उनको उचाई अझै बढेको ट्वीटरमार्फत उल्लेख गरेका छन् ।
यस्तो छ अध्यक्ष थापाको ट्वीट :
‘वरियताको विषयमा बाबुरामलाई केहीले खिसी गरेको पढें। बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ। तर,उहाँको वरियता/राजनीतिक उचाई नि.आयोगमा पेशभएको कागजले गर्दैन। लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहॉको स्थान कायम भैसकेको छ। एकतागर्दा नाम तल राख्न मानेर बरु उहांको उचाई अझै बढेको देखिन्छ ।’
वरियताको विषयमा @brb1954 लाई केहीले खिसी गरेको पढें।बाबुरामजीसंग धेरै विषयमा मेरो मतभेद छ।तर,उहाॅको वरियता/राजनीतिक उचाई नि.आयोगमा पेशभएको कागजले गर्दैन।लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाॅको स्थान कायम भैसकेको छ।एकतागर्दा नाम तल राख्न मानेर बरु उहांको उचाई अझै बढेको देखिन्छ
— Kamal Thapa (@KTnepal) June 8, 2020
आइतबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको थियो । तर निर्वाचन आयोगमा दर्ता गर्दा उनको नाम ‘टिपेक्स’ले मेटेर अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको थियो।
पार्टी दर्ता गर्नुअघि पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर, बाबुराम भट्राई र उपेन्द्र यादवको नाम राखिएको थियो । दर्ता गर्दा दुई अध्यक्षको नाम मात्रै राखिएको थियो ।
स्रोतका अनुसार जसपा कानुनी आधारमा निर्वाचन आयोगमा दल दर्ता भएपति पनि पार्टीभित्रको वरीयता विवाद भने टुंगिएको छैन। आइतबार पार्टी दर्ता गर्ने अन्तिम दिन भएकोले सहमति नभइ हतारमा निर्वाचन आयोगमा पत्र पेश गरिएको स्रोतको भनाइ छ ।
राजपा र समाजवादी पार्टीले गत वैशाख १० गते मध्यरातमा एकता घोषणा गरेका थिए। घोषणाको भोलिपल्ट दुवै दलका नेता निर्वाचन आयोग पुगेर जनता समाजवादी पार्टी गठन गरेको जानकारी दिएका थिए।
जनता समाजवादी ५३ जनाको कार्यसमिति हुने भएकाले तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २७ र समाजवादी पार्टीबाट २६ जना सदस्य रहेका छन्।







