बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका थिए ।
१९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका हुन् ।
प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गत आजको दोस्रो बैठकमा सभामुख पूर्ण घर्तीले मुख्यमन्त्रीको राजीनामा स्वीकृतसम्बन्धी प्रदेश प्रमुखको पत्र वाचन गरेर सुनाए । योसँगै विशेष अधिवेशन सकिएको छ ।
