काठमाडौँ ।पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको होटेलको मूल गेटमा पशुपति क्षेत्र विकास कोषले ताला लगाएको छ।
नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूल गेटमा शुक्रबार सरकारले ताला लगाएको हो ।
ताला लगाउनुअघि कोषले होटेल खाली गर्न सूचना जारी गरेको थियो। तर, बतास समूहले कोषको टोलीलाई मूल गेटमै रोकेर भित्र जान दिएन । होटेलभित्रका सामान हराउने तथा हिनामिना हुने डरले ताला लगाउनुपरेको कोषले जानकारी दिएको छ ।
कोषले होटेलका सामान नचलाउन बतास समूहलाई अनुरोधसमेत गरेको छ। होटेलका कर्मचारीले कोषका कर्मचारीलाई भित्र प्रवेश गर्न नदिएपछि कोषले बाहिरी गेटमा ताल्चा लगाएर सूचना टाँसी फर्किएको छ। अनुगमनका क्रममा पुगेका कोषका पदाधिकारी र होटेलका कर्मचारीबिच शुक्रबार पनि विवाद भएको थियो ।
