कञ्चनपुर । बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।
मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट, वडा नं १ बाराकुण्डाका नारायणदत्त भट्ट, मुसेपानीकी कमला साउदविरुद्ध जाहेरी परेको छ । भट्टद्धय र साउद झारफुकको काम गर्छन् ।
यसैगरी स्थानीय कुवेरसिंह साउद, गौरी साउद, कमला साउद, जानकी घडाल र चक्र साउदविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत उजुरी परेको छ । जाहेरी दर्ता भएसँगै घटनाको प्रहरीले अनुसन्धानको कार्य अगाडी बढाएको छ । मृतकको शव महाकाली अस्पतालमा राखिएको छ ।
मृतकका आफन्तले शव बुझेका छैनन् । घटनाको सत्य तथ्य जाँच गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरुको माग छ ।
चैत २८ गते टाउको दुख्ने समस्या देखिएपछि रञ्चुला छिमेकी कमलाको घरमा पुगेकी थिइन । त्यहाँ झारफुक गर्ने धर्मानन्द र नारायणदत्तले रञ्चुलालाई थारुको भूत लागेको बताएका थिए ।
दिनभर मन्त्र जप्नुपर्ने भन्दै त्यही राखेका र वैशाख १ गते भूत धपाउने भन्दै कुटपिट गर्दा रञ्जुलाको मृत्यु भएको बताइएको छ ।
सम्बन्धित समाचार : कञ्चनपुरमा धामी झाँक्रीको कुटपिटबाट महिलाको मृत्यु
सम्बन्धित समाचार : कञ्चनपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग