काठमाडौँ । आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ ।
निगमको पछिल्लो छ महिनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको जनाइएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको वित्तीय पक्ष सुदृढ हुँदै गएको दाबी गरे ।
पछिल्लो समय निगमले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पुरै भुक्तानी गरिसकिएको छ र आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने बताइएको छ ।
ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठुलो राहत भएको छ ।
निगमले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम ८ महिना (साउनदेखि फागुन) सम्म रु ८ अर्ब ३९ करोड आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिको आम्दानी रु पाँच अर्ब ७० करोड थियो ।
निगमले दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको साँवा ब्याज भुक्तानीको कूल दायित्व रु ४७ अर्ब ४४ करोड पुगेको जनाएको छ ।
निगमले अत्यन्त प्रतिकूल अवस्थामा ओभर ड्राफ्टबाट लिएको पुरै रकम भुक्तानी गरी रु एक अर्ब ३३ करोड ९९ लाख ७६ हजार ६६७ नगद मौज्दात कायम हुनाले निगमले यस अवधिमा रु एक अर्ब २७ करोड दुई लाख ५१ हजार ६३७ वित्तीय आम्दानी बचत गरेको देखिन्छ ।
ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठुलो राहत भएको छ ।
निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ए३२० सेरिजका दुई वटा न्यारोबडी र ए३३० सेरिजका दुई वटा वाइडबडी जहाजको औसत सिट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको जनाएको छ ।
विसं २०७८ कात्तिकमा न्यारोबडी जहाजले सात घण्टा ३८ मिनेट र वाइडबडी जहाजको ६ घण्टा ३६ मिनेट उडान भरेकामा २०७९ चैतमा न्यारोबडीको ९ घण्टा ४८ मिनेट र वाइडबडीको १० घण्टा ४१ मिनेट जहाज उपयोगिता भएको थियो ।
निगमले आफ्नो गन्तव्य विस्तारका क्रममा यही वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा नियमित उडान प्रारम्भ गरेको छ । नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मानिएको रियादमा निगमले हाललाई हप्तामा दुई वटा उडानबाट प्रारम्भ गरिसकेको छ ।
बजार मागअनुसार आगामी दिनमा अझ थप उडान विस्तार गर्ने कार्ययोजना रहेको निगमका प्रवक्ता अर्चना खड्काले बताइन् । निगमले साउदी अरेबियाको जेद्दा र दम्माममा पनि उडान अनुमति पाइएको छ ।
रियाद (साउदी अरेबिया) नयाँ गन्तव्य मात्र नभएर चार लाखभन्दा बढी नेपालीहरु रहेको र यात्रु सङ्ख्या एवं भाडा दरका कारणले थप आकर्षक गन्तव्य पनि हो । निगमले विभिन्न कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान सञ्चालन गरिसकेको छ । निगमले हाल भारतको नयाँ दिल्ली गन्तव्यमा दैनिक दुई उडान गरिरहेको छ ।
यस्तै मुम्बईमा साताको तीन, बैङ्ग्लोरमा साताको तीन उडान भर्दै आएको छ । त्यसै गरी दोहा र दुबई समान साताको पाँच उडान तथा हङकङमा साताको एक उडान, क्वालालम्पुरमा साताको तीन उडान गरिरहेको छ ।
बैंककमा साताको तीन उडान र रियादमा साताको दुई उडान सञ्चालन गरिरहेको निगमले जनाएको छ । निगमले ११औँ नयाँ गन्तव्यको रुपमा चीनको ग्वान्झाउ र १२ औँ गन्तव्यको रुपमा दक्षिण कोरियाको सिओलमा उडान विस्तारको लक्ष्य राखेको छ ।
निगमले धनगढी र नेपालगन्जलाई आधार बनाएर सुदूर पश्चिममा नियमित उडान सञ्चालन गरिरहेको छ । २०७८ सालको बडादसैँको अवधिमा आएको बेमौसमी वर्षात र बाढी–पहिरोले नेपालको पश्चिम पहाडी जिल्लाहरुमा यातायात अवरुद्ध भई दशैँ मनाउन गाउँघर गएका नागरिकहरु अलपत्र परेकोले तत्कालै उद्धार हुने गरी बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लाहरुमा धनगढी र नेपालगन्जलाई आधार बनाएर उद्धार उडान सञ्चालन गरिएको थियो ।
त्यसयता ती जिल्लाहरुमा नियमित व्यावसायिक उडान सञ्चालनमा रहेको छ । यस्तै निगमले आन्तरिक उडानमा पनि गन्तव्य विस्तार गरेको छ । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको निगमले काठमाडौँ–इलाम–काठमाडौँ नियमित उडान गर्ने गरी गृहकार्य अगाडि बढाइरहेको प्रवक्ता खड्काले बताइन् ।
निगमले काठमाडौँबाट थामखर्क, खानीडाँडा, भोजपुर, इलाम, फाप्लु, ताप्लेजुङ, दाङ, नेपालगन्ज नियमित उडान गर्दछ भने नेपालगन्जबाट रुकुम, डोल्पा, जुम्ला, ताल्चा, सिमकोट उडान गर्ने गर्दछ । त्यस्तै धनगढीबाट डोटी, साँफेबगर, बाजुरा र बझाङ उडान गर्दै आएको छ ।
निगमले विश्वका प्रसिद्ध वायुसेवा कम्पनीसँग अन्तरदेशीय टिकट बिक्री गरिरहेको छ । जसले गर्दा निगमको सिधा उडान नहुने गन्तव्यमा निगमकै टिकटबाट यात्रा गर्न गर्न पाइन्छ ।
निगमले युरोपका विभिन्न सहर, अस्ट्रेलिया, दक्षिण कोरिया, इजरायलका गन्तव्यमा उडान गर्ने वायुसेवा कम्पनीहरुसँग सम्झौता गरेको छ ।