काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ नहुने बताएका छन् ।
बुधवार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने बताए।
घिसिङले आफ्नो पार्टीले उठाएका मुद्दा कार्यान्वयन भए स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्नभन्दा स्वतन्त्र उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । उनले उज्यालो नेपाल पार्टी निर्वाचनबाट नभाग्ने स्पष्ट पार्दै गैरदलीय निर्वाचनका लागि सरकारलाई दबाब दिने बताए । घिसिङले रास्वपाले आफ्नो घोषणापत्र र प्रतिबद्धता पत्रमा स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने विषय उल्लेख गरेको दाबी गरे । जनतासँग प्रत्यक्ष जोडिने शिक्षा, स्वास्थ्य, पूर्वाधार र दैनिक सेवा प्रवाहका विषयमा स्थानीय जनप्रतिनिधि राजनीतिक दलभन्दा जनताप्रति जबाफदेही हुनुपर्ने उनको भनाइ छ । दलीय टिकट वितरणमा आर्थिक चलखेल हुने र जनप्रतिनिधि पार्टीको निर्देशनमा चल्नुपर्ने अवस्था अन्त्य गर्न स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने उनले बताए । उनले आगामी निर्वाचनअघि नै आवश्यक कानून संशोधन र नियम निर्माण गरी उक्त व्यवस्था कार्यान्वयन गर्न सरकारसँग माग गरे । त्यस्तै, विदेशमा रोजगारी, अध्ययन वा अन्य कारणले रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने विषय पनि आफ्नो पार्टीको प्रमुख प्रतिबद्धता भएको घिसिङले बताए ।
अघिल्लो निर्वाचनका बेला अन्तरिम सरकारसँग समयको अभाव, संसद नहुनु र कानुनी प्रक्रियाका कारण विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न कठिनाइ भएको उनको भनाइ छ ।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र र प्रतिवद्धतापत्रमा स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषय उठाएको थियो । यही प्रतिवद्धताका आधारमा जनताले ठूलो समर्थन दिएका छन् । तर सरकार बनेको लामो समय बितिसक्दा पनि यी विषय कार्यान्वयनका लागि ठोस पहल भएको छैन । स्थानीय तहका जनप्रतिनिधि जनताप्रति प्रत्यक्ष जबाफदेही हुनुपर्छ । दलीय हस्तक्षेप, टिकट वितरणमा हुने आर्थिक चलखेल र भ्रष्टाचार न्यूनीकरण गर्न स्थानीय निर्वाचन गैरदलीय हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यसैले आवश्यक ऐन संशोधन तथा नियम निर्माण गरी आगामी निर्वाचनअघि नै यो व्यवस्था लागू गर्न सरकारसँग जोडदार माग गर्दछौँ । त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्छ । अन्तरिम सरकारका बेला समय अभाव, संसद् नहुनु र कानुनी जटिलताका कारण यो विषय अघि बढ्न सकेन । तर अहिले सरकारसँग आवश्यक बहुमत र संसद भएकाले कार्यान्वयन नगर्नुपर्ने कुनै बहाना छैन । हामी यी दुवै विषय कार्यान्वयनका लागि सरकारलाई दबाब दिन्छौँ । यद्यपि, गैरदलीय निर्वाचन नभए पनि हामी निर्वाचनबाट भाग्दैनौँ । स्थानीय तहको निर्वाचनमा उज्यालो नेपाल पार्टीले जनताका लागि काम गर्न सक्ने, राम्रो विगत भएका र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनेछ । त्यस्ता व्यक्ति पार्टीभित्रका वा बाहिरका जोसुकै हुन सक्छन् । तर अहिले नै उम्मेदवारीको टिकट वितरण गर्ने पक्षमा हामी छैनौँ। निर्वाचनअघि गैरदलीय प्रणाली लागू हुनुपर्छ भन्ने हाम्रो माग हो । श्रम संस्कृति पार्टीसँग एकताको विषयमा अहिलेसम्म कुनै संवाद वा भेटघाट भएको छैन । भविष्यमा एकता हुन सक्ने सम्भावना भए पनि त्यसका लागि विचार र एजेन्डामा सहमति हुन आवश्यक छ । अहिले हामी आफ्नै पार्टीलाई बलियो बनाएर अघि बढिरहेका छौँ । उज्यालो नेपाल पार्टीको मुख्य उद्देश्य सुशासन कायम गर्ने, सामाजिक न्याय सुनिश्चित गर्ने र हरित क्रान्तिमार्फत देशलाई समृद्ध बनाउने हो। हामी भाषणभन्दा काममा विश्वास गर्छौँ । देशमा आर्थिक रूपान्तरण, विभेदको अन्त्य र समृद्धि हासिल गर्न हामी प्रतिबद्ध छौँ ।’
उनले अहिले संसद र सरकार दुवै रहेकाले उक्त विषय कार्यान्वयन गर्न कुनै बहाना बनाउन नहुने बताए । स्थानीय तहको निर्वाचनमा उज्यालो नेपाल पार्टीले कस्ता उम्मेदवार उठाउँछ भन्ने प्रश्नमा घिसिङले विगतको कार्यसम्पादन राम्रो भएका र जनतालाई सेवा दिन सक्ने व्यक्तिलाई प्राथमिकता दिने बताए । त्यस्ता व्यक्ति पार्टीभित्रका वा बाहिरका जोसुकै हुन सक्ने उनले स्पष्ट पारे । श्रम संस्कृति पार्टीसँग एकता गर्ने विषयमा भने अहिलेसम्म कुनै संवाद वा भेटघाट नभएको उनले बताए । भविष्यमा एकताका लागि विभिन्न दलसँग छलफल हुन सक्ने भए पनि अहिले आफ्नो पार्टीलाई अगाडि बढाउने उनको भनाइ छ ।




