काठमाडौँ । नेपाल नगरपालिका सङ्घको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गाना चयन भएका छन् । नेपाली काँग्रेसबाट निर्वाचित ढुङ्गाना सङ्घको आठौँ महाधिवेशनबाट ४३ सदस्यीय कार्यसमितिमा सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
यस्तै उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । यस्तै उपमहासचिवमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल चयन भएकी छिन् ।
कोषाध्यक्षमा नेपाली काँग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई कोषाध्यक्ष र सह कोषाध्यक्षमा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख एकीकृत समाजवादीकी मीना लामा चयन भएकी छन् ।
स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार सङ्घको भागवण्डा भएको हो । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।