काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन्।
बुधबार सहकारी तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको दुई दिने सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सभामुख घिमिरेले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बचत तथा ऋण सहकारीसँग सम्बन्धित ऐन ल्याउन जरुरी रहेको बताए।
उनले भने, ‘देशभर सहकारीका लाखौँलाख सदस्यहरू प्रभावित भएका र ७ खर्बभन्दा बढी पुँजी परिचालन गरिएको यो क्षेत्रलाई नियमन गर्नको लागि आवश्यक पर्ने ऐन, कानूनहरु छुट्टै निर्माण गर्न जरुरी छ। यो क्षेत्रलाई नै सञ्चालन गर्नको लागि बचत तथा ऋण सहकारीसँग सम्बन्धित ऐन ल्याउन जरुरी छ। यो ऐन ल्याउने तयारीमा तपाईँहरू लाग्नुभएको भन्ने सुनेको छु, त्यसमा म धेरै खुसी छु। यसमा सहकार्य गरेर अघि लैजानुपर्छ र छिटै यो ऐन ल्याउनका लागि खासगरी राजनीतिक पार्टीका नेताहरूसँग छलफल चलाएर अघि बढ्नूस्। प्रधानमन्त्रीहरूसँग लबिङ गर्नुहोस्। अहिले देखिएका समस्या र अहिलेसम्मका अनुभवका आधारमा हामी ऐनहरू बनाएर अघि बढ्नुपर्छ।’
सभामुख घिमिरेले नयाँ ऐन बनाउन कुरा सरकारले प्रस्ताव गरी संसदमा छलफल हुने विषय भएकाले ऐनको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए।