काठमाडौँ । मोरङको विराटनगरस्थित तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्थाले निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवास रहेका छन् । बचतकर्ताको रकम ठगीको आरोपमा थप ८ जनालाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार सहकारीले १२ करोड ९ लाख ४ हजार ४८७ रुपैयाँ बराबरको रकम घोटाला गरेको देखिएको छ । ठगिए भनेर आउनेहरूको संख्या दिनदिनै बढेकाले घोटाला रकम बढ्ने मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । अहिलेसम्म १२१ जनाले उजुरी दिएको उनले जानकारी दिए ।
उनका अनुसार प्रहरीले तुलसी सहकारीमा बचत गर्ने बचतकर्ताहरू, पीडितहरूले ५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङमा आइ जाहेरी वा उजुरी दिन अनुरोध गरेको छ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख पोखरेलले २१ हजार ७१३ सदस्य रहेको सहकारीका विराटनगरमा मात्र ४ हजार बढी सदस्य रहेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।