काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन्।
सोमबार संसद भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकमा देउवाले पार्टीका नेताहरूलाई यस्तो ब्रिफिङ गरेका हुन् ।
सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यति चासो देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औँल्याएका छन् ।
पार्टीका सांसद रामहरि खतिवडाका अनुसार पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेको छन् ।
देउवाले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको खतिवडाले जानकारी दिए।
बैठकमा सांसदहरूले छोटो समय देशको नेतृत्व गरेको बिपीपछि काँग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए।
सांसदहरूले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्नेरु पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताए।