काठमाडौँ । गुल्मीको रेसुङ्गा विमानस्थलमा प्राविधिक उडान परीक्षण सफल भएको छ ।
नेपाल वायुसेवा निगमको एअरको नाइनएन एबीटी जहाजले काठमाडौँबाट स्थानीय समय अनुसार बिहान ०६ ४६ मा उडान भरी ७ बजेर ४२ मिनेटमामा रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो ।
निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले परीक्षण उडान गरेको निगमले जनाएको छ ।
२०६३ सालदेखि निर्माणकार्य सुरु गरिएको विमानस्थलको १६ वर्षपछि निर्माणकार्य सम्पन्न भएको हो । कुल ३३ करोड लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ ।
रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ मा धुले परीक्षण उडान गरिएको थियो ।
