काठमाडौँ । कैलालीमा नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका-११ बस्ने ३५ वर्षीय महेशराम लावडलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार लावडले आफूलाई दिनेश विष्टको नामले चिनाएर सेनामा जागिर लगाइदिन्छु भन्दै डोटीको पुर्बीचौकी गाउँपालिका-७ बस्ने देबबहादुर बिकका परिवारबाट चार लाख २० हजार रकम लिएर फरार भएका थिए । उनले बिकलाई नेपाल सेनाको भान्से पदमा जागिर लगाउने भन्दै रकम असुली गरेका प्रहरीको भनाइ छ ।
उनी २०६२ देखि २०७३ सालसम्म नेपाली सेनाका जागिरे र पछि सुर्खेत ब्यारेकबाट जागिर छाडेर भागेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीले लावडलाई बाँकेको राप्तीसोनारी गाउँपालिका-९ को शम्सेरगञ्जमा डेरा गरी लुकिछिपी गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनीमाथि ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।