काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान संविधानमा नागरिकका अधिकार स्थापित भएका बताएका छन्।
नवौँ संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित ‘संविधान दिवस-२०८०’ मूल समारोहलाई सम्बोधन गर्दै उनले नेपालको वर्तमान संविधान सबैको साझा दस्ताबेज हो र यसमा नागरिकका सबै अधिकार स्थापित भएको बताएका हुन्।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरू गम्भीर भएर सोच्नुपर्ने धारणा राखे।
उनले संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनुपर्ने धारणा राख्दै लोकतन्त्र स्थापनामा सहिद भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।