काठमाडौँ । तिहारलाई लक्षित गर्दै नेपालमा अवैध फूल माला भित्रिने गरेको भन्दै फ्लोरिकल्चर एशोसिएसन नेपालले त्यस्ता मालाको बिक्री वितरण रोक्नु पर्ने बताएको छ । एशोसिएसनका अध्यक्ष मीन कुमार तामाङले विज्ञप्ति निकालेर अवैध रूपमा पुष्प आयात गर्ने, भण्डारण गर्ने तथा विक्री गर्ने गरेको पाइएमा जानकारी दिनु हुन सबैमा अनुरोध गरेका छन् ।
‘अवैध रूपमा पुष्प आयात गर्ने, भण्डारण गर्ने तथा विक्री गर्ने माथि गृह मन्त्रालयले प्राथमिकताका साथ अनुगमन समेत गरिरहेको र फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) पनि निरन्तर समन्वयमा रहेको जानकारी गराउँदछौं,’ अध्यक्ष तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘तिहार नजिकिँदै जाँदा यस किसिमको अवैध कारोबार बढ्न सक्ने सम्भावित अवस्थालाई निरुत्साहन गर्न यस्ता गतिविधिको जानकारी पाइएमा हामीलाई वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिनु हुन पनि सबैमा अनुरोध गर्दछौं ।’ गृह मन्त्रालयमा २०८० कार्तिक २ मा भएको छलफल, पुष्प विकास केन्द्रको २०८० कार्तिक १२ को भारतीय माला आयात सम्बन्धी सूचना, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको २०८० कार्तिक २३ मा प्रकाशित विज्ञप्ति, देशभरबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँ पालिकाहरूले गरेको प्लाष्टिकजन्य फूलमाला प्रतिबन्ध र स्वदेशी उत्पादनलाई मात्र प्रयोग गर्ने प्रतिबद्धता लगायतका कदमले स्वदेशमै उत्पादित पुष्प प्रवर्द्धनका लागि बल पुगेको एशोसएिसनले जनाएको छ ।
तिहारको पूर्व सन्ध्यामा अवैध तथा आवश्यकता भन्दा बढी सयपत्री मालाको आयात भई रहेको सूचनाहरू प्राप्त भए पछि नेपाली किसानहरू प्रतिकारका लागि फूलका माला बोकेर सरकारी निकायमा धर्ना दिनेसम्मको तयारी भइरहेको थियो, तर तत्काललाई सरकारी पक्षबाट आएको प्रतिविद्धताले असहज परिस्थिति सृजना हुनबाट टरेको एशोसिएसनको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार : फूल आयातमा प्रदेश र संघका निकाय बिच विवाद, ४८ वटा प्रवेश अनुमतिपत्र निलम्बन







