काठमाडौँ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ। ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानको काम सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदानमा प्रदेश सभातर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत खसेको र दुई मत खस्न बाँकी रहेको थियो। मतदानको समय ३ बजेसम्म रहे पनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानको काम सम्पन्न भएको हो।
दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र २१८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३०५ मतदाता रहेका थिए भने ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
अहिले मुचुल्का तयारीको काम भइरहेको र तीन बजेपछि मत गणनाको काम सुरु हुने कार्यालयले जनाएको छ ।