काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरूका शब्दले उसको परिचय दिने भएको भन्दै यस्ता शब्द हटाउन लगाउनु जरुरी नभएकोतर्फ पनि पार्टीका सांसदहरूलाई सचेत गराए।
आइतबार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा गलत कुराको सख्त आलोचना र विरोध गर्न पनि पार्टीका सांसदहरूको ध्यानाकर्षण गराए।
गल्ती बोल्नेका कुरा संसदमा विरोध गरे पुग्ने भएकाले यसलाई रेकर्डबाट हटाउन माग गर्न आवश्यक नभएको ओलीको भनाई थियो। अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेले त्यसलाई रेकर्डबाट हटाई पाउँ भन्नु स्वाभाविक हुने भएपनि अरूले उसको गल्ती सच्याइदिने काम गरिरहन नपर्ने बताए।