डोटी । खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा काठ काट्ने विद्युतीय आरा र बन्दोबस्तका सामानसहित चार जना पक्राउ परेका छन् ।
खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार शुक्रवार राती डोटीको पूर्वीचौकी गाउँपालिका-२ मा पर्ने रानीढुङा मध्यवर्ती सामुदायिक वन क्षेत्रको हाँडेढुङाको खोलाको किनारबाट निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र खप्तड राष्ट्रिय निकुञ्जको गस्ती टोलीले काठ काट्ने विद्युतीय आरा र बन्दोबस्तका सामानसहित चार जनालाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट सानो खालको विद्युतीय आरा, नौ वटा तिलाइलो रुखको फुरु (गाँठो) चार वटा स्पिलिङ ब्याग, वासुलो नाम गरेको हृयामर, खाद्यान्नहरू, सलाई, लाइटर, र दुई वटा विद्युतीय आराको ब्लेड लगायत बन्दोबस्तका सामानहरू सहित बरामद गरिएको पौडेलले बताए ।
डोटी, अछाम, बझाङ, र बाजुरा जिल्लामा पर्ने खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पाइने तिलाईलो जातको रुखको गाँठो काटेर अवैध रूपमा बिक्री वितरण हुने गरेकोमा त्यसलाई नियन्त्रण गर्न निकुञ्ज प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको समेत पौडेलले बताए । फुरु (गाँठो) काट्ने निहुँमा अन्य जडीबुटी तथा वन पैदावार चोरी सिकारी समेत हुने सम्भावना हुने भएकोले यस तर्फ निकुञ्ज प्रशासन सक्रिय रहेको समेत पौडेलले बताए । पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।







