२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक कर्मचारीको कर्णाली पढाई: समृद्धिको यात्रामा पुगेन गहिराइ र बुझाइ

अ+ अ-

१.    उठान
कर्णाली प्रदेशका पहाड तिरका बस्तीको अचम्म लाग्दो पातलीकरण, अवलोकन भ्रमणका वेला अनुभूत गरिएका भूँई मान्छेका कारुणिक वेदना, कर्णाली प्रदेश प्रमुखले व्यक्त गर्नु भएको पाको आत्मानुभूतिको प्रतिविम्बन, हाम्रा परम्परागत प्राविधिक जनशक्ति र रैथाने भूमि पुत्र दलितहरूको गाउँ र वस्तिका असजिला परिवेशले यो कर्णालीको विकासका विषयमा घोत्लिन मन लाग्यो ।

अनि अहिले कर्णाली पढ्दै छु । म पढ्ने होनहार विद्यार्थी होइन । तथापि कनीकुथी गरेर पढिरहेको छु । कर्णालीतिर आएपछि पढेका प्रमुख सामाग्री हुन् “कर्णाली पिपुल एण्ड प्लेस”, “कर्णाली प्रदेशको प्राविधिक शिक्षाको विश्लेषण र यसको रणनीतिक योजना”, “पाओर अफ पोजिटिभ थिङ्किङ्ग”, “कर्णाली प्रदेश सरकारको हालसम्मका बजेट तथा कार्यक्रमहरू र तिनको वार्षिक मूल्याङ्कन प्रतिवेदनहरू, कर्णाली लोक संस्कृति, वैदिक साम्यवाद : योगी नरहरिनाथ, हाम्रो संस्कृति: हाम्रो परम्परा, दुल्लु नगरपालिकाको स्थानीय पाठ्यक्रम, नेपाल दिगो विकास लक्ष्यहरु: वर्तमान अवस्था र भावी मार्गचित्र, नेपाल मानव विकास प्रतिवेदन २०२०, खलङ्गामा हमला,  हाम्रो देश दर्शन, कर्णाली लोक संस्कृति र जनजीवन, समृद्धिको लहरीमा कर्णाली, कर्णाली लोक संस्कृति र भौगोलिक दृष्टिकोण, आदि हुन् ।

यी र यस्ता थुप्रै पुस्तकले दिएको ज्ञान भन्दा कर्णाली तिरको अनुभव र अनुभूतिले धेरै ज्ञान दिइरहेको छ । शास्त्र, विश्वविद्यालय र विद्यालयका विद्वान गुरु-गुरुआमा तथा तालिमका धुरन्धर प्रशिक्षक र विज्ञले दिएको ज्ञान भन्दा कयौँ गुना ज्ञान वर्धक भइरहेको छ । युवा नै नभएको प्रदेशमा कसका लागि विकास र कसका लागि काम गर्दै हुनुहुन्छ ? भन्ने प्रश्न र ती बिदेसिएका युवाहरू राज्य प्रति सकारात्मक नभएको विषय जस्ता प्रसङ्गहरूले पनि लेख लेख्न उत्प्रेरित गर्‍यो ।

२.    कर्णालीतर्फ
कर्णाली प्रदेशको भेरी र कर्णाली नदीको सेरोफेरोले आफैँमा ठूलो सभ्यता र संस्कृति बोकेको थियो । डा. अंगराज तिमिल्सिनाका अनुसार कर्णाली भू-भागमा मानव बस्ती १० हजार वर्ष पहिले नै बसेको थियो । प्राचीन कालमा कर्णाली स्वर्ग प्रस्थान गर्ने बाटो भनेर चिनिन्थ्यो । अहिले कर्णालीको समृद्धिको आधार जलविद्युत, जडीबुटी र प्राकृतिक स्रोत भनिन्छ । प्राकृतिक स्रोतहरूमा दैलेखमा भएको इन्धन र अधिकांश जिल्लाका पहराहरूबाट लर्केका  सिलाजित अमूल्य निधि मानिन्छन् । तथापि यहाँको अधिकांश क्रियाशील जनशक्तिले दिल्ली, मुम्बई, पन्जाब, सिम्ला र कश्मीरमा श्रम गर्न पर्ने नियति र बाध्यता यथावत नै छ । राज्यलाई तिर्न पर्ने कर उतै तिरेका छन् ।

आफ्नो स्व आय ६४ करोड मात्र भएको कर्णाली प्रदेश हो । जुन तराइ तिरको एउटा समान्य गाउँ पालिकाको भन्दा कम छ । संघीय सरकारले दिएको बजेटमा आधारित छ कर्णाली प्रदेशको विकास  । त्यसमा पनि अधिकांश विकास शीर्षक सशर्त अनुदानमा आधारित छन् । मौलिकता नपहिलिएको वितरणमुखी नियतिको अनुकृति (कपी) जस्तो छ कर्णालीको विकास ।

३.    नवीनता नखोजेका हाम्रा हचुवा व्यवहार
संविधान दिवस: यो पङ्क्तिकारले नजिकबाट अनुभूति गरेको विना उपलब्धि प्रदेशको ऊर्जा, श्रम, स्रोत र समय खर्च गरेको एउटा उदाहरण यस वर्षको संविधान दिवस मनाउँदाको परिदृश्य हो । भर्खर-भर्खर हामी विद्यालयमा पढ्न जाँदा (करिब पचास वर्ष पहिला) जुन तरिकाले पञ्चायती संविधान दिवस मनाइन्थ्यो, त्यही तरिकाले अहिले मनाइयो ।  संविधान दिवस किन त्यसरी मनाइन्छ ! ठ्याक्कै उस्तै राजाको पालाको जस्तो । पञ्चायत कालको जस्तो । बाजागाजा र धूमधाम । माथि मञ्चमा ठुला मन्छे, तल साना मान्छे  । भाषण-भाषण अनि भाषण । ती भाषण सुन्ने चासो खासै कसैको छैन ।

प्रदेश प्रमुख, मुख्यमन्त्री, विपक्षी दलका नेता, पूर्व मुख्यमन्त्रीहरू, नागरिक समाज, कर्मचारी सँगै गोलो टेबुलमा बसेर संविधानको मर्म कति कार्यान्वयन भयो । कति भएन । प्रदेशले के गर्ने पर्ने थियो ? के गर्न सकिएन ? यस्ता विषयमा छलफल गरेर केही निचोड निकाल्न सकिन्थ्यो होला । त्यता ध्यान कसैको गएन । राम्रा दुई वटा अनुसन्धान गराएर प्रस्तुत गराउँदै त्यसैमा छलफल गराएको भए पनि हुने थियो । हामीलाई चाहियो उही सम्मान, उही मञ्च र उही भाषण ।

राजनीतिक दलका कार्यकर्ता जागिरे भन्दा आफूलाई आर्थिक, बौद्धिक र सामाजिक रूपमा सक्षम साबित गर्न जे जसो गर्न पनि तम्सिन्छन् । बाँड्ने मात्र कुरा नेताले र राजनीतिक दलका घोषणापत्र बोल्छ । जनता पनि महत्त्वाकाङ्क्षी र परनिर्भर भएका छन्, राज्यले घरमुनिको डहर पनि बनाइदिओस् भन्छन् । जम्मा नगरी कसरी बाँड्छस् भनेर भन्न जनता सक्दैन । जान्दैन । त्यस्तो तागत छैन । ढुकुटी सबै सिद्धाउने कर्मीलाई भोट दिने हो र ? भन्ने अक्किल पाउने वा ठहर गर्ने क्षमता उनीहरूमा छैन । बाँड्ने मात्र कुराले त कङ्गाल बन्दछ भन्ने सामान्य कुरामा हामी ख्यालै गर्दैनौँ । आफूले केही नगरी माग्ने मात्र काम त गतिलो होइन भन्ने हेक्का हामीमा छैन । आफू अल्छी बनेर ऋण खोजेर बाँड्ने कि । आफू जाँगरिलो बनेर मिहेनत गरेर आफू बाँच्ने र सके अरूलाई पनि दिने । जेजस्तो उब्जेको छ त्यही खाएर आनन्द मान्ने कि भएर नभएर ऋण लिएर मोज मस्ती गर्ने । यस्ता विषयमा व्यापक छलफल भएको भए पनि त संविधान दिवसको केही उपलब्धि हुँदो हो ।

विमर्श विनाको निर्णय:गत माघ महिनाको दश गतेको कर्णाली प्रदेश सरकारको निर्णयले कर्णाली प्रदेशको शिक्षा क्षेत्र झण्डै दुर्घटनामा परेको । शिक्षा मात्र परेन स्वास्थ्यको पनि करिब दशा त्यही भयो । स्वास्थ्य जस्तो विषय क्षेत्रको क्लिनिकल र जनस्वास्थ्यका तालिमहरू प्रशासनिक संरचनामा लग्दा यसको मर्म कस्तो होला भन्ने कुरामा ख्यालै गरिएन । शिक्षाजस्तो बालबालिकालाई पठनपाठन गराउने विषयलाई प्रशासनिक विवेकले पुग्दैन भन्ने कुरा ख्याल नै गरिएन । अहिले युग विशिष्टीकरणको युग हो भन्ने कुराको हेक्का नै गरिएन । तालिम केन्द्रहरू प्रशासनिक संरचनामा गए । निर्देशनालय खारेज भयो । प्रदेश सरकार सच्चिनै सरकार जस्तो हुने हो र मन्त्रालयहरू मन्त्रालय जस्ता हुने हो भने सिदान्त: नीतिगत विषयमा मन्त्रालयले काम गर्ने; कार्यान्वयनका लागि विभाग, तालिम केन्द्र वा निर्देशनालय चाहिन्छ भन्ने सर्वव्यापी र विश्वव्यापी मान्यतालाई नै ख्यालै गरिएन । नीति पनि कार्यान्वयन पनि आफैले गर्दा मन्त्रालय भद्रगोलमा फस्दछ भन्ने कुरा नै भुलियो । प्रदेश आफैलाई कमजोर बनाइयो ।  

शिक्षाकर्मी, शिक्षा तथा समाजशास्त्रको विद्यार्थी र यी दुवै विषय क्षेत्रको कर्मचारीको नेतृत्व तहमा काम गरिरहेकोले हुनसम्मको पिडा भयो । सरकारको सानो त्रुटिले सबैले हुनसम्मको दुख पाइयो यो पनि जीवनको महत्पूर्ण सिकाइ भयो । सम्बन्धित विषयगत मन्त्रालयको लिखित सुझाव समेतलाई ख्याल नगरिएको हुँदा समस्या बल्झिएको थियो । त्यस त्रुटिपूर्ण निर्णयले यस क्षेत्रमा काम गर्ने कर्मीहरू बहुलाह जस्ता भयौँ । कर्मचारीको स्वभाविक आचरणको परिवृत्तलाई समेत अलि फराकिलो बनाउन पर्ने बाध्यता आइलाग्यो । राजनीतिक दलहरू, शिक्षकहरू, अन्य सरोकारवाला सबै एक जुट भयौँ । आक्रोशित भयौँ, अडान लिने मात्र होइन चट्टानी अडान लिने कामबाट सरकारलाई बुझाउन सफल भयौँ ।  त्रुटि सचियो ।

एउटा मेरा अनन्य मित्र र सहकर्मीले भने “कर्णालीमा शिक्षाको स्तर बढ्यो वा सबैले पढे भने भारतमा न्यून स्तरका मजदुरको समस्या पर्छ । अव भारतमा धेरै मानिस शिक्षित भई सकेका छन् । त्यहाँ न्यून स्तरको मजदुरको खडेरी हामीले कर्णाली प्रदेश र सुदूर पश्चिमका पहाडबाट पूर्ति गरिरहेका छौँ । भारतीयहरू अति चलाख छन् । उनीहरू ५० वर्षपछिको अवस्था विश्लेषण गर्दछन् ।” ती मित्र सामान्यतया बोल्दैनन् बोले भने ब्रह्म बोली जस्तो गरी गहिरिएर तर्कका आधारमा आफ्नो कुरा राख्दछन् । उनको मिजास अलि कडा छ त्यसैले धेरैले रुचाउँदैनन् उनलाई ।

तर मेरा निम्ति सिकाइ विषय हुन उनी । यो भनाइमा सत्यता असत्यता त के होला तर म दङ्ग परे किनकि मेरो मनमस्तिकमा कहीँ कतै नभएको कुरा, मेरो सोचको परिवृत्त भन्दा धेरै परको विषय थियो त्यो । ती मित्रको बुझाइ थियो होइन “हामीले कर्णाली प्रदेशमा साँचिनै सार्वजनिक शिक्षा सुधारका लागि राम्रै कार्यविधि ल्याइए छ क्या हो । मनिसहरुलाई छटपटी धेरै भएछ ।” यी कुराबाट म के बुझ्दै छु भने हामी कर्णालीमा शिक्षा क्षेत्रमा निकै कमजोर छौँ । यो कुरा हाम्रा तथ्य तथ्याङ्कले पनि देखाएका छन् । अनुभव र अनुभूतिका विषय पनि हुन् ।

४.    सामाजिक क्षेत्र भित्र शिक्षा क्षेत्रको कुरा !
सबैले बुझ्न पर्ने कुरा के थियो भने स्वभावतः वकिल चाहन्छन् मानिस झगडालु होउन्, राजनीतिज्ञले चाहन्छ मानिसहरू उसको कुरा मात्र सुनी रहुन्, पुजारी चाहन्छन् मानिस सबै मन्दिरमा आइरहुन्, ठेकेदार चाहन्छन् धेरै मानिस मजदुर होस जसले गर्दा उसले सस्तो मूल्यमा मजदुर पाउँछ, रक्सी पसलेले चाहान्छन मानिसले रक्सी ख्याउन, पुलिस चाहन्छन् हरेक मानिसले उसैको कुरा मानोस्, बैंकरहरु चाहन्छन् हरेक मानिस उसैको ग्राहक बनुन् र तान्त्रिक चाहन्छन् मानिस भूतप्रेतसँग डराइराखोस् तर शिक्षक चाहन्छ हरेक नरनारी शिक्षित होउन्, जीवनमा सफलता प्राप्त गरी अगाडि वढीरहुन, आफ्नो, आफ्नो परिवारको, समाजको, आफ्नो देश र समस्त मानव समाजको हित गरुन् ।

तर अहिले यस्तो अवस्था छैन होला । त्यसो नहुनुमा शिक्षक मात्र दोषी छैनन् होला । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले भनेको थियो अरूको भन्दा शिक्षकको अलिकति भने पनि तलब बढाउन पर्छ । बढाउन सकिने आधार पनि दिएको थियो । राष्ट्रका जिम्मेवार विज्ञहरू बसेर त्यो प्रतिवेदन लेखिएको थियो । त्यसमा अर्थशास्त्रीको पनि राय सुझाव थियो । उनीहरूले पनि दीर्घकालीन विकास गर्ने हो भने यो ठिक छ आवश्यक छ भनेका थिए । तर आफैले बनाएको आयोगले बुझाएको प्रतिवेदनलाई तत्कालीन राजनीतिक नेतृत्वले पचाएनन् । त्यसमा स्पष्ट हुन चाहेन । व्यवहारिक बनाउन विमर्श गर्न नै चाहेन । हाम्रो समग्र परिवेश यस्तै हो ।

सिक्ने सिकाउने कुरामा आत्मीयता आवश्यक पर्छ । सिक्न साथीहरू बिचमा अन्तर घुलन हुँदा अनौपचारिक र अन्यासमा नै थुप्रो कुरा सिकिन्छ जति प्रविधिको प्रयोग र उपयोग गरे पनि भौतिक अन्तरक्रिया नितान्त आवश्यक हुन्छ । अहिलेसम्म विश्वको कुनै मुलुकमा विद्यालयको विकल्प दिइएको छैन । दूर शिक्षण प्रविधि समपूरक र परिपूरक हुन सक्दछ तर विकल्प हुन सक्दैन । तथापि हामी प्रविधिका व्यापारी र प्रविधिको अतिरञ्जित गर्नेको लहैलहैमा लागेर सुर्खेतमा डिजिटल सिकाइ केन्द्र राखेर पढाउने र शिक्षक र विद्यालय नभएर पनि चल्दछ भन्न पनि पछि पर्दैनौँ ।

प्रा.डा. बालकृष्ण लुइँटेलले भने जस्तो शिक्षण भनेको त्यस्तो पेसा हो विषयवस्तु पनि जान्नुपर्‍यो, त्यसले समाज पनि बुझ्नुपर्‍यो, त्यसले मनोविज्ञान पनि बुझ्नुपर्‍यो, त्यसले विधि पनि बुझ्नुपर्‍यो । साइन्स फ्याकल्टी पढ्ने मान्छेले साइन्स मात्र बुझे भयो । मान्छेको बारेमा बुझ्नै परेन । तर साइन्स एजुकेसन पढ्यो कसैले भने, उसले विज्ञान पनि जान्नु पर्‍यो ,मान्छे पनि जान्नु पर्‍यो । किनभने शिक्षा भनेको त मान्छेलाई हुन्छ । मान्छेलाई शिक्षित बनाउने कुरा, शिक्षा दिने कुरा आफैमा जटिल कुरा हो । शिक्षा दिने मान्छेलाई शिक्षा दिने कुरा अर्को जटिल कुरा हो । शिक्षक बन्ने मान्छेलाई शिक्षा दिनु छ, त्यो कामलाई साह्रै सजिलो आँक्नै हुँदैन । प्रविधि मात्रको प्रयोगले मान्छे यान्त्रिक हुनसक्छ । मानवीय हुँदैन । अहिले नै हाम्रा बालबालिका एकोहरो भए मोबाइलमय भए अरु केही नचाहिने भए र सामाजिक पक्ष खतम भयो भनिरहेका छौँ ।

त्यसैले कहिले काहीँ मनमा भाव उत्पन्न हुन्छ-सतहका अलमलिएको कर्णालीको विकास भनौँ कि अर्थात् माग्ने र बाँड्ने बुद्धिले चलेको विकास भनौँ । आन्तरिक संवेग उत्पन्न भएर हुने हो सिकाइ । अन्तर घुलनबाट मनमा उथलपुथल नभई बल गरेर मात्र पनि सिकाइ हुँदैन । सिकाइको वातावरण र परिवेशलाई बुझेर बालबालिकाको आनन्दको अनुभूति हुने गुदो कुरो पहिल्याएर गरिने शिक्षण बल्ल अर्थपूर्ण हुन्छ । त्यसैले मूल्य नपहिलिएको विकास, त्यसमा पनि सामाजिक क्षेत्रको विकास सतही हुन्छ भन्ने लाग्छ । मूल्यको क्षयीकरण भयो भने त्यसको परिणाम नकारात्मक हुन्छ । भुसको आगो झैँ प्रदूषित प्रभाव सबैतिर फैलिन्छ ।

५. गहिराइको कुरा
लेखमा साधना गरिरहने गोपी नाथ मैनाली लेख्नुहुन्छ “राजनेता नेल्सन मन्डेलाले भनेका थिए-समाज बिगार्नु छ भने त्यहाँको शिक्षा प्रणाली भत्काइदिए पुग्छ । समाज व्यवस्थाका सबै क्षेत्र बिगारिदिन कमसल शिक्षा काफी छ । सन् १९६० को दशकमा ली क्वान युले थोरै पढ, धेरै सिक भन्ने शिक्षा रणनीतिका साथ राष्ट्र विकासको अभियान सुरु गरेका थिए । खासै प्राकृतिक स्रोत नभएको मुलुक सिंगापुर तेस्रो विश्वबाट पहिलो विश्वमा पुग्नुमा शिक्षाले जगको काम गरेको थियो । आज सिंगापुरका मानिसहरू गर्वका साथ भन्ने गर्छन्, ‘वी ह्याभ नथिङ बट नलेज “ (कान्तिपुर दैनिक, माघ २६, २०८०) ।

हामीले शिक्षालाई किन बुझी रहेका छैनौ र यसरी निमछरो बनाइ रहेका छौँ । कोइराला (२०८०) का अनुसार, शिक्षामा गरेको थप १ प्रतिशत लगानीले नेपालजस्तो देशको कुल गार्हस्थ्य उत्पादनमा ८ देखि १० प्रतिशतसम्म वृद्धि हुन्छ भन्ने जानकारी दियो  (बारो र ली, २०००) । एरेंबर्ग र स्मिथ (सन् २००६) ले मानव पुँजीको सिद्धान्तमार्फत सो जानकारीलाई थप पुष्टि गरेका थिए । शिक्षामा गरेको लगानीले आर्थिक अवस्थामा सुधार ल्याउँछ भन्ने विषयमा विश्व ढुक्क छ । विश्वविख्यात अर्थशास्त्री कार्ल मार्क्सले पनि शिक्षा र आर्थिक वृद्धिदर बीच सम्बन्ध हुन्छ भन्ने बुझेका थिए । सो सम्बन्धलाई उनले वर्गीय विभेदसँग लगेर जोडी दिएका थिए । शिक्षा विवेकशील नहुँदा पुँजीवादी र सर्वहारा वर्गको जन्मको हुन पुग्छ भनेर व्याख्या गरेका थिए ।

यस्तो वर्गीय विश्लेषण अनुसार धनी समूहबाट ५९ प्रतिशत विद्यार्थीले कक्षा १० पार गर्दा सबैभन्दा गरिब समूहबाट केवल १० प्रतिशतले मात्र कक्षा १० पार गर्छन् , त्यस्तै अवस्था कक्षा ८ पार गर्ने दरको छ, जहाँ गरिब समूहका ६२ प्रतिशत विद्यार्थीले सो तह पार गर्दा धनी समूहबाट ९१ प्रतिशतले सो तह पार गर्छन्; अहिलेको प्रविधिको युगमा आइसिटी क्षमता भएको विद्यार्थीमा ३७ प्रतिशत धनी समूहको छ भने जम्मा २ प्रतिशत मात्र गरिब समूहको छ ; आइसिटी क्षमता र कक्षा १० पार गर्ने दरलाई हेर्ने हो भने बजारमा भित्रने जनशक्ति बीच आवश्यक सीप र क्षमताको खाडल रहेको छ र रहनेछ ; अर्थात्, कार्ल मार्क्सले भने जस्तै नेपालका सन्दर्भमा शिक्षा भनेको वर्गीय विभेद ल्याउने माध्यम बनेको छ  (कोइराला, संवेदन, कान्तिपुर दैनिक, माघ २५,२०८०) । कुराको के हो भने अरु क्षेत्रमा गरिएको लगानी घुमिफिरी बाहिरिने सम्भावना बढी हुन्छ । शिक्षा र सामाजिक क्षेत्रमा गरेको लगानी भित्र रुमलिन्छ । यतै घुलन हुन्छ । बिस्तारै परिवर्तनको रसायन बन्दछ ।

हुन पर्थ्यो के ? भइरहेको छ के ?
समाजिक क्षेत्रका कुरा मसिना छन् । मसिनै तरिकाले बुझ्न पर्ने हुन्छ । समाजिक क्षेत्रका अन्य विषय क्षेत्रको कुरा अर्को प्रसङ्गमा गरौँला यहाँ यस लेखमा शिक्षा क्षेत्रलाई मात्र परिसीमित गरेर हेरौँ । नागरिक सक्षमता तथा सबल जनशक्ति विकासका लागि जन्मेको बच्चाबाट नै बलियो जग हाल्न आवश्यक हुन्छ । यसैले बाल विकास केन्द्रमा दैनिक शैक्षिक सीप सिकाइ क्रियाकलापमा वार्षिक ५७६ घण्टा खर्चिनु पर्दछ । साथै, मनोरञ्जन, शारीरिक खेलकुद, खाजा खाना, सुताइ तथा आरामका लागि वार्षिक २५६ घण्टा समय दिनु पर्दछ। यसैले बाल विकासका बालबालिकाका लागि वार्षिक ८३२ घण्टा सीप विकासमा शिक्षण सिकाइमा समय लगाइन्छ । त्यस्तै कक्षा १-३ मा साप्ताहिक पाठ्यभार २६ पाठ्यघण्टा र वार्षिक ८३२ कार्यघण्टा पठनपाठनको व्यवस्था छ । कक्षा ४-१० सम्म साप्ताहिक पाठ्यभार ३२ पाठ्यघण्टा र वार्षिक १०२४ कार्यघण्टा पठनपाठन हुनु पर्छ ।

सोही अनुसार माथिल्ला तह र कक्षामा पाठ्यघण्टा र कार्यघण्टा निर्धारण गरिएको छ । पाठ्यक्रमका विषयवस्तु संसारभरको चलन र हाम्रो वास्तविकताका आधारमा निर्धारण गरिएको हुन्छ । दशकौँ देखि अभ्यास गरिरहेको पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम तथा पाठ्य सामग्रीको सैद्धान्तिक र दार्शनिक आधार बलियो हुन्छ भन्ने कुरा बुझ्न पर्ने हुन्छ । तथापि निर्धारण गरिएका विषयवस्तु मर्मअनुसारको शिक्षण सिकाइ हुन नितान्त आवश्यक छ । विद्यार्थीलार्इ प्रश्न गरेर सिक्ने र अभ्यास गरेर सिक्ने अवसर मिलाउन आवश्यक हुन्छ । शिक्षक सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र खोजकर्ताको भूमिकामा हुनुपर्ने गरी सिकाइ सहजीकरण, शिक्षण विधि र प्रक्रियाहरू पाठ्यक्रमले स्पष्ट किटान गरेको छ । पाठ्यक्रमका विषयवस्तुलाई प्रतिवर्ष अद्यावधिक, प्रत्येक पाँच वर्षमा परिमार्जन र दश वर्षमा परिवर्तन गरिन्छ ।

हामीले कर्णाली प्रदेशको सन्दर्भमा बुझ्नै पर्ने कुरा के हो भने शैक्षिक गुणस्तर परीक्षण केन्द्रले प्रत्येक वर्ष कार्यसम्पादन गरिएका माध्यमिक विद्यालयहरूको प्रतिवेदन अनुसार यस प्रदेशको विद्यालय शिक्षा मूल्याङ्कन नतिजा दयनीय छ । कक्षा दश र बाह्रको परीक्षाका नतिजाले विद्यार्थीको सक्षमता स्तर निकै कमजोर देखाएको छ । यसले शिक्षण सिकाइ र समग्र मूल्याङ्कन पद्धति र व्यवस्थापन पक्ष धेरै कमजोर रहेको देखाउँछ । अझ डरलाग्दो कुरा त के छ भने कक्षा बाह्रका ननग्रेडिङ्ग वाला विद्यार्थीहरू त्यस्ता अवसरप्रति प्रोत्साहित भर्इ आगामी परीक्षामा सहभागी नहुने गरेको (गत वर्ष ५७ हजार विद्यार्थीमध्ये १४ हजार मात्रको उपस्थिति) अवस्थाले हाम्रा विद्यालय तहको शिक्षाको जग साह्रै कमजोर छ, शिक्षकहरू पेसागत सक्षमता र दायित्वप्रति उदासीन छन् र प्राय विद्यार्थीहरूमा आत्मबल छैन, गुणस्तरीय शिक्षण सिकाइको आत्मसातीकरण हुन, गर्न सकिएको छैन भन्ने सन्देश दिन्छ ।

नीतिगत रूपमा विद्यालय तहमा विद्यालय सामाजिक परीक्षण समिति, शिक्षक अभिभावक सङ्घ, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहमा गाउँ वा नगर शिक्षा समिति जस्ता संरचनाको व्यवस्था छ । ती समिति र संयन्त्रमा विद्यालयको प्रगति, समस्या, चुनौती र अवसरका पक्षमाथि व्यापक छलफल हुनु र त्यसको निचोडलार्इ कार्यान्वयन गर्ने कुराको अपेक्षा गरिएको हुन्छ । तथापि त्यो पक्ष यति कमजोर छ भन्नै लाज लाग्दो अवस्था छ । त्यसै गरी नेपाल शिक्षक महासङ्घ, विद्यार्थीहरूका सङ्गठनहरू, अभिभावक महासङ्घ, विद्यालय व्यवस्थापन समिति महासङ्घ, संघीय, प्रदेश तथा स्थानीय तह सम्बद्ध सङ्घसंस्था तथा गैरसरकारी संस्थाहरूका प्रतिनिधिहरू र स्थानीय सरकारका प्रतिनिधिमूलक महासङ्घहरूको राम्रै भूमिकाको अपेक्षा गरिएको छ ता पनि साच्चैनै बच्चाको पठनपाठनमा उनीहरूको उपयुक्त होस पुग्न सकेको देखिदैन् ।

६. अनुभूति
अनुभूति नभएको ज्ञान, ज्ञानै होइन भने जस्तो पङ्क्तिकारको अनुभूतिको प्रतिविम्बन के भने विकास गर्छु, उसले गरेन, म गरिहाल्छु, उसले गर्न दिएन जस्ता शब्दावलीको प्रयोग गर्न विज्ञता नचाहिने रहेछ । भेलामा यस्ता कुरा गरेर ताली खान पनि विज्ञता चाहिने रहेन छ । आफू धरतीमा आएकै देश बनाउन र विकास गर्न हो भनेर चर्को बोलेर ताली खान र सामाजिक सञ्जालमा प्रशंसा पाउन खासै मानसिक र शारीरिक श्रम चाहिने रहेन छ । बहस र विमर्शको सट्टा विवाद र दोषारोपण अहिलेको विकासको नियति नै बनेको हो कि भन्ने अनुभूति भइरहेको छ । बौद्धिक श्रम चाहिने भनेकै भई रहेका विकासका अनगिन्ती कामहरू किन र कसरी त्यो अवस्था स्थापित भए तिनको पृष्ठभूमि र जरो पहिल्याएर मूल्य थप गर्नु रहेछ । समाजको गति कहिले मात्रात्मक ढङ्गले अघि बढ्छ भने कहिले गुणात्मक ढङ्गले । अहिलेको आवश्यकता गुणात्मक हो । यस्ता कामले ताली पनि पाउँदैन, गाली पनि आउने रहेनछ । बुद्दिमात्र होइन अठोट र कठोर हुन पनि पर्ने रहेछ । जोसुकैले जेसुकै भनुन् गरिछाड्छु भन्ने अठोट ।

नीतिगत र राजनीतिक हुटहुटीले मात्र पनि विकासको अपेक्षा पूरा नहुने देखिन्छ । सामाजिक क्षेत्रको विकास अत्यन्तै संवेदशील हुन्छ । साना घटना र दुर्घटनाको दूरगामी असर हुन सक्दछ । विचारलाई व्यवहारिक प्रयोग र त्यसका सम्भावित सकारात्मक र नकारात्मक परिणामका बारेमा विमर्श (डिस्कोर्ष) हुन नसकेमा असल विचार सिद्धान्तका कुरा ओझेलमा पर्दछन् । जुन कुरा भई नै रहेको अनुभूति भइरहेको छ । विमर्श नहुँदा नैतिकताको पक्षलाई भीडको बहाव (ह्युम)ले बगाइदिने रहेछ । बौद्धिक श्रमिक एवम् सरल र सौम्य पात्रहरूको कुनै मूल्य नदेखिने कुरा स्वाभाविकै हुँदो रहेछ । चर्को बोल्ने बहादुर कहलिन् तथा तथ्य र प्रमाणका आधारमा गरिने तर्क नयाँ नयाँ ज्ञानको निर्माणलाई पदीय, दलीय र तिनका मतियारले विनिर्माण गरिदिने रहेछन् ।

७. निचोड:
यो प्रविधिको युग हो । प्रविधिको प्रयोग विना मानिस बाच्न मुस्किल हुने भइसक्यो । तर प्रविधि-प्रविधि भनेर मात्र पनि हुँदैन । अहिलेका हाम्रा प्रविधि मैत्री बच्चाहरू एकोहोरा र मोबाइलमा घोप्टिने भए भनी आलोचना हुने गरेको छ । मानिस स्वभावतः सामाजिक प्राणी हो । समूह र साथी उसको जीवनका अभिन्न पक्ष हुन् । सिकारुका निम्ति समूहबाट सिकाइ, साथीबाट सिकाइ, अन्तक्रियावाट सिकाइ सर्वाधिक महत्त्वपूर्ण र स्थायी हुन्छ । साथीभाइ र समूहमा अन्तरघुलन हुँदा सिकिइएका सिकाइएका विषयवस्तु चिरस्थायी हुन्छन् । अहिले हाम्रा बच्चाहरू समाज नबुझ्ने भए । मोबाइलमा पाइने विषयवस्तुले थाहा नहुने गरी उनीहरूलाई आयातित संस्कृतिका पक्षधर बनाइ रहेको छ ।

विकासका निम्ति नयाँ सोच र लगाव चाहिने हो । वैचारिक साधना विना सिर्जना गाह्रो छ । हामी ले हाम्रो मति पनि बदल्न सकेका छैनौँ । सोच र विचार नै नबदलिएर, आफ्नो बानी र व्यवहारमा परिवर्तन नगरेर विकासमा फड्को मार्ने कल्पनाले केही अर्थ राख्दैन । विकासको यात्रा सहज हुँदैन । विशेष लगाव चाहिन्छ । सिर्जनात्मक, प्रवर्द्धनात्मक र रचनात्मक थुप्रै प्रयास हुनु पर्छ । परिवेशले नयाँ र गमिला अनुसन्धान खोजेको छ ।

प्रश्न गर्ने, आलोचना र असन्तुष्टि मन्थन आफैँमा सृजनशील कुरा हुन्  भन्ने कुरा हाम्रो चेतमा प्रवेश नै गर्न सकेन भन्ने पिरलो अहिलेको हो । समयले हाम्रो परम्परागत चलनमा परिवर्तन खोजेको छ । तर मैले भन्या नमान्ने ? मैले भन्या टेर्दैनौ तिमीले ? भन्ने संस्कार बोकेको परिवेश छ हामीसँग अहिले पनि । प्रा. कृष्ण खनाल र सिकेलालले भने जस्तो चेतना र चिन्तन प्रवेश नगरी नयाँ ज्ञान प्राप्त हुँदैन भन्ने चेत विकास भएन भने विकासका नयाँ आयाम पहिलिदैन्; यो विषय घनिभूत अनुसन्धानका नतिजाभन्दा अझ गम्भीर छ (अनलाइन खबर, २०८० भदौ २५ गते)।