काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
सोमबार प्रभावित क्षेत्रमा पुगेका राष्ट्रपति पौडेलले बाढीपीडित नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूले भोगिरहेका समस्या र गुनासाबारे जानकारी लिएका हुन्। उनले विपत्तिबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित नागरिकको वर्तमान अवस्थाबारे समेत चासो व्यक्त गरेका थिए।
निरीक्षणका क्रममा राष्ट्रपतिले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि भइरहेका प्रयासबारे जिल्ला सुरक्षा समितिसँग जानकारी लिएका थिए। बाढीले पुर्याएको धनजनको क्षतिसम्बन्धी विवरण पनि समितिले राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको थियो।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीले बाढीपछिको अवस्थाबारे जानकारी गराउँदै खोज तथा उद्धार, राहत वितरण, प्रभावितको पुनर्स्थापना र तत्काल आवश्यक निर्माणका कामबारे भइरहेको प्रगतिबारे राष्ट्रपतिलाई अवगत गराएका थिए।
राष्ट्रपति पौडेलले नुवाकोटमा बाढी प्रभावित नागरिकलाई राखिएको होल्डिङ सेन्टरको समेत निरीक्षण गरेका छन्। त्यहाँ रहेका प्रभावित नागरिकले भोटेकोशीमा आएको अप्रत्याशित बाढीबाट भएको व्यक्तिगत तथा सम्पत्तिको क्षतिबारे राष्ट्रपतिसमक्ष आफ्ना अनुभव र समस्या राखेका थिए।
यसैक्रममा राष्ट्रपति पौडेलले नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको क्याम्पको अवलोकन गर्नुका साथै रसुवा बाढीबाट प्रभावित क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका छन्।






