काठमाडौँ । बूढीगण्डकी नदीमा पानीको बहाव बढेको छ ।
हिउँ पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ। बिहान पौने नौ बजे तिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्।
ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ। बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। ‘बाढीले क्षति गर्ने सम्भावना हुन्छ। बाढी आउनु पूर्व नै सुरक्षित रहन अपिल गर्दछौँ,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवक्ता भट्टराईले जानकारी दिए।







