काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको आरोप लगाएका छन् ।
सोमबार सदनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनीयत काँग्रेसले राखेको भन्दै त्यो सम्भव नहुने स्पष्ट पारे । काँग्रेस पूर्वाग्रही भएको भन्दै बर्तौलाले कोही व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने जिकिर गरे ।
उनले भने, ‘नेपाली काँग्रेसको यसप्रकारको दादागिरी, उद्दण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुन सक्दैन । यदि काँग्रेस संवादको माध्यमबाट अगाडि बढ्न तयार छ भने हामी संवादको सबै वातावरण बनाएर अगाडी जान तयार छौँ । कार्यदलको बैठक बस्न सक्छ । कार्यदललाई व्यवस्थित ढंगले लैजान चाहन्छौँ । सहकारी पीडितलाई न्यायको प्रक्रियाबाट अगाडि जान चाहन्छौँ । बचतकर्ताहरूको बचतको सुरक्षाको सुनिश्चितता गर्न चाहन्छौँ । ठगी र बदमासी गर्नेलाई कारबाही गर्न चाहन्छौँ । त्यो यो संसदीय छानबिन समितिले गर्न सक्छ । तर, नेपाली काँग्रेस तयार छ ?’
बर्तौलाले थपे, ‘तपाईँहरूलाई चाहिएको छ रवि लामिछानेको नाम । नाम लिने, भोलिपल्टदेखि सदनमा राजीनामा माग्ने । सरकारलाई ढाल्ने । अस्थिरतातर्फ मुलुकलाई लैजाने दाउपेच नेपाली काँग्रेसको छ । नेपाली काँग्रेसले समिति माग गरेको होइन । समितिको नामबाट सरकार माग गरेको हो । जुन कुरा असम्भव छ ।’