काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अर्थमन्त्रीले ल्याएको बजेट धरापमा पर्ने टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभामा बजेटमाथि छलफलको क्रममा बोल्दै ९० प्रतिशत वामपन्थी सांसद र कम्युनिष्ट पार्टीको अध्यक्ष प्रधानमन्त्री भएको बेलामा आएको बजेटको विचारधारा के हो भन्दै प्रश्न गरे ।
उनले भने, ‘भोलि उत्तर दिने बेलामा उहाँले भन्नुहोला ९० प्रतिशतभन्दा बढी वामपन्थी सांसदहरु भएको सरकारले ल्याएको बजेट, कम्युनिष्ट पार्टीको अध्यक्ष प्रधानमन्त्री, कम्युनिष्ट पार्टीकै नेता अर्थमन्त्री, यो बजेट वामपन्थी विचार र कार्यक्रमअनुसारको बजेट हो कि समाजवाद उन्मुख बजेट हो कि यो पुरानै परम्परालाई निर्वाह गर्न ल्याइएको हो ?’
नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका सांसद पाण्डेले ओलीले समेत बजेटमाथि असन्तुष्टि व्यक्त गरेको उल्लेख गर्दै कसको छलफलमा निर्माण भयो भन्दै प्रश्न गरे ।
उनले थपे, ‘सत्तासीन दलको नेता पूर्वप्रधानमन्त्री ओलीज्यूले पनि भन्नुभयो, सरकार सहभागी दलसँग छलफल गरेर ल्याएको भए राम्रो हुन्थ्यो भनेर, तर नल्याएर राम्रो भएन भनेर । यद्यपि, उहाँले भोट हाल्छौँ र पास गर्छौँ भन्नुभएको छ । बजेट निर्माणमा राम्रो छलफल भएन भने कसरी निर्माण भयो ?’







