काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताएका छन् । उनले नागरिकको अपेक्षा सम्बोधन हुने गरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताए ।
बुधवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रमुख सचेतक बर्तौलाले सरकारको सय दिनमा नकारात्मक टिप्पणी गर्ने ठाउँ नभएको बताए ।
उनले भने, ‘सय दिनमा सरकारले नराम्रो गरेन । सय दिनको अंक दिँदाखेरि अनुत्तीर्ण भएको अवस्था छैन । डिस्टिंग्शन दिइहाल्नुपर्ने अवस्था पनि रहेन । त्यो पथमा सरकार पुगेको छ । नागरिकको विश्वास जितेको छ । अर्थतन्त्रलाई बिग्रँदो गतिबाट ट्रयाकमा ल्याउने ठाउँमा पुर्याएको छ । शान्ति सुरक्षालाई कायम पथमा सरकार अघि बढिरहेको छ ।’
प्रमुख सचेतक बर्तौलाले सीमित श्रोत साधनका बीच सरकारले अधिकतम डेलिभेरी दिनुपर्ने अवस्था रहेको बताए । ‘अब सरकारले आफ्नो गति बढाउनुपर्छ । गेयर बदल्नुपर्छ । न्युट्रलमा थियो, अब १र२ हुँदै अगाडि बढाउनुपर्छ । अहिलेको गतिले अब पुग्दैन । नागरिकमा ठूलो अपेक्षा छ । युवाहरूको ठूलो संख्या बेरोजगार छन् । कृषिमा समस्याहरू छन् । यी देखिएका समस्या समाधान गर्ने सामर्थ्यका साथ सरकारले काम गर्नुपर्छ । अहिलेसम्मको सय दिनको मूल्याङ्कन गर्दाखेरि नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन ।’