काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले एमालेसँग सत्ता सहकार्य गरेको तर अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको बताएका छन् ।
पार्टी संसदीय दलको सिंहदरवारमा बुधबार बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली काँग्रेससँग मिल्दा माओवादीलाई घाटा भने नभएको बताए ।
‘हामीले वामपन्थीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले नै एमालेसँग मिलेका हौँ । केपी ओलीलाई नबुझेको थिएन तर मान्छे हो, हन्डर खाएर रूपान्तरित भए कि भन्ने भ्रम पर्यो, ‘दाहालले सांसदहरूलाई भनेका थिए, ‘यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन ।’
एमालेबाट सभामुख बनेका देवराज घिमिरेले प्रतिनिधि सभा सचिवमा पूर्वसचिव सुरेश अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरेबाटै गम्भीर संकेत भने मिलेको दाहालले बताएका थिए । एक सांसदका अनुसार ओलीलाई प्रधानमन्त्री पद नै चाहिएको भए तत्काल छोडिदिन्छु वामपन्थी गठबन्धन कायम राख्न प्रस्ताव राखेको दाहालले जानकारी दिएका थिए ।