काठमाडौँ । गण्डकी प्रदेशबाट निर्वाचित नेपाली काँग्रेसका सांसदहरू भेला भएर समसामयिक राजनीतिक परिवेश, पार्टी राजनीति र गण्डकीको विकास र समृद्धिबारे विमर्श गरेका छन् ।
राजधानीमा भेलिएका उनीहरूले कोशीमा सबै पार्टी एकताबद्ध भएको, अहिले मन्त्रीहरूको उपस्थितिले सुदूरपश्चिम अखण्ड नै रहेको देखिए पनि मन्त्री बनाउँदा गण्डकीलाई उपेक्षा गरेको निष्कर्ष निकालेका छन् । सुरूमा जीवन परियारलाई सरकारमा समेट्ने चर्चा चलेकोमा उनलाई पठाइएन ।
गण्डकीबाट प्रतिनिधि सभामा धनराज गुरुङ, जीवन परियार, राजेन्द्र बजगाईँ, राजु थापा, योगेश गौचन, टेकबहादुर गुरुङ मनाङ, शंकर भण्डारी, खमवीर गुर्जुवा छन् ।
पार्टीमा गुट उपगुट झाँगिँदै गएको, गण्डकी प्रदेश सरकार काँग्रेसकै नेतृत्वमा भएपनि संघीय सांसदसँग मुख्यमन्त्रीले कुनै समन्वय नगरेको पनि बैठकमा कुरा उठेको छ । पार्टी नेता(कार्यकर्ता बीच एकता नभएको प्रदेश, राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने व्यक्तित्व नभएकाजस्ता कारण आफूहरूलाई निषेध सुरु गरेको पनि उनीहरूको ठहर छ । गण्डकी पार्टीको एकता, समन्वय र सद्भाव उठाउने कोसिस नगरेकैले संगठन खस्किएको उनीहरूको जिकिर छ ।
प्रदेशमा राष्ट्रिय राजनीतिको एउटा पङ्क्ति भएपनि राष्ट्रपतिको रूपमा अवतरित गरिएपछि गतिविधि सशक्त अघि बढाउन नसकिएको पनि छलफल भएको छ ।
संवैधानिक परिषद् र संवैधानिक निकायका नियुक्तिमा काँग्रेस नेतृत्वले बनाएको सोचबारे पनि छलफल गरिएको छ । गोरखाको स्थानीय निर्वाचनको बेला टिकटको द्वन्द्व र अन्य केही घटनाले आन्तरिक मित्रतामा क्षति पुगेको महसुस गरेको ती सांसदले सुनाए ।
बैठकमा वर्तमान मुख्यमन्त्रीबाट भिन्न विचार समूहबाट माग गरिएका योजनापत्र च्यातिएको र आफ्नै गुटलाई मात्र प्राथमिकतामा पार्ने कार्य गरेकोबारे टिप्पणी भएको छ । पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपालीको समन्वयलाई भने चित्तबुज्दो मानिएको छ ।
कालीगण्डकी करिडोरलगायतका कुरामा पनि चासो राखिएको छ ।
गण्डकीमा १२ ठाउँमा टिकट पाएकोमा १० ठाउँ जितेको तर तनहुँ उपनिर्वाचन गुमाउनु गठबन्धनको परिणाम भएको उनीहरूको निचोड छ ।