काठमाडौँ । अर्थतन्त्रमा सुस्तीको समस्या देखिइरहेको अवस्थामा ‘बजार चलायमान बनाउने’ मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ । आगामी मौद्रिक नीतिको अन्तिम तयारीबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई बिहीबार ब्रिफिङ गरेका छन् ।
राष्ट्र बैंक व्यवस्थापन समिति बैठकमा मौद्रिक नीतिबारेको छलफल सकिए लगत्तै बिहीबार अधिकारीले अर्थमन्त्री पौडेललाई भेटेर ब्रिफिङ गरेका हुन् ।
गभर्नर अधिकारीले शुक्रबार बिहान ८ बजेका लागि राष्ट्र बैंक बोर्ड बैठक समेत डाकेका छन् । बिहान ८ बजे डाकिएको सञ्चालक समिति बैठकमा मौद्रिक नीति र अन्य एजेन्डा रहेको स्रोतले जनाएको छ ।
व्यवस्थापन समितिको छलफल करिब सकिएको र विभागीय प्रमुखसँगको छलफल पछि अहिलेको मस्यौदामा केही परिमार्जन हुनसक्ने स्रोतको भनाइ छ ।