काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
आइतबार केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले संविधानमा उल्लेख समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले राजनीतिक स्थायित्वको लागि काँग्रेस र एमाले सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राखे । नेता कोइरालाले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्न अत्यावश्यक भएको बताए ।
उनले भने, ‘एक्लै चुनाव लड्न सक्ने क्षमता हामीहरूले बनाउन सक्नुपर्यो । कसैको वैशाखी लिएर हामी चुनावमा जान हुँदैन । त्यो हामीहरूले बुझ्न जरुरी छ । यो सरकार जुन बनेको छ, यो सरकारलाई टिकाएर अगाडि कसरी लग्ने ? मजबुत कसरी बनाउने ? राजनीतिक स्थायित्व भएन भनेर हामीले यो सरकार बनाएको हो । ६र६ महिनामा सरकार परिवर्तन हुने । अरु देशमा सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुँदैन । हामीकहाँ नीति पनि परिवर्तन हुन्छ । यो सरकार आउन बित्तिकै २२ जना सचिव परिवर्तन भए । अझै कति हुने हो ? यसरी गर्दा खेरि सरकारको स्थिरता आउँदैन । त्यसले अप्ठ्यारो परिस्थितिहरू सिर्जना गर्छ । सरकार परिवर्तन भइरहँदा सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नहुने हुन्छ ।
नेता कोइरालाले मिश्रित निर्वाचन प्रणालीबाट कुनै पनि राजनीतिक दलको बहुमत नआउने भन्दै दलहरूको बहुमत ल्याउन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने धारणा राखे । ‘राजनीतिक स्थायित्व दिनलाई संविधान संशोधन गर्ने हो भने त्यो जरुरी छ । अहिलेको मिश्रित प्रणालीबाट चुनावमा जाँदाखेरि कुनै पनि दलको बहुमत आउँदैन । बहुमत ल्याउनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमै जानुपर्छ, ‘उनले भने, ‘तर निर्वाचन प्रणालीलाई प्रत्यक्ष बनाउँदै गर्दा हामीले संविधानको समावेशी चरित्रलाई भुल्नुहुँदैन । त्यो समावेशी चरित्रलाई कुनै किसिमको बाधा, अड्चन नआउने गरी, त्यसलाई परिवर्तन नगरी अगाडि कसरी जान सकिन्छ त्यसबारे छलफल गर्न सकिन्छ ।’