काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा ४.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
आईएमएफ तथा विश्व बैंक समूहको वार्षिक बैठक क्रममा अमेरिकाको वासिङटन डीसीमा सार्वजनिक ‘वल्र्ड इकोनोमिक आउटलुक’ ले यस्तो प्रक्षेपण गरेको हो ।
गत अप्रिलमा आईएमएफले यो आर्थिक वर्ष २०२५ मा ५.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यसमा ३० आधार बिन्दूले घटाएको हो । यद्यपि, आईएमएफको प्रक्षेपण अझै पनि उत्साहप्रद नै छ ।
विश्व बैंक तथा एसियाली विकास बैंकले यसअघि नै तुलनात्मक रूपमा आशावादी आर्थिक वृद्धिको प्रक्षेपण गरिहरेका बेला आईएमएफ पनि यो क्लबमा जोडिएको हो ।
गत आव (२०२४) मा नेपालको आर्थिक वृद्धि ३.१ मात्रै भएको आईएमएफको प्रक्षेपण छ । त्यसअघि २०२३ मा २ प्रतिशत मात्रै वृद्धि थियो । २०२९ मा पनि ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण आईएमएफको छ ।
मूल्यवृद्धिका मामिलामा भने नेपाल राष्ट्र बैंकको लक्ष्यसँग आईएमएफको प्रक्षेपण मिल्दो देखिन्छ । गत आव ५ प्रतिशत र आगामी आव २०२५ मा ५.४ प्रतिशत मूल्यवृद्धि हुने प्रक्षेपण आईएमएफको छ ।