काठमाडौँ । बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँगको बयान सकिएको छ । उनीसँग सोमबार र मंगलबार गरी १३ घण्टा बयान लिइएको छ ।
पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धानका क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले सोमबार बुटवल ल्याएको थियो ।
सोमबार ५ र मंगलबार ८ गरी १३ घण्टा जोशीसँग बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय भैरहवाले जनाएको छ ।
बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ गएको देखिएको छ । त्यस्तै गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेका नाममा २ करोड रकम गएको अनुसन्धानमा देखिएको छ ।