काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नति गर्न सघाउने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री पौडेल र कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईसहितको बैठकले उक्त केन्द्रको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्न लेखी पठाउने गरी निर्णय गरेको छ ।
अब कोशी प्रदेश सरकारबाट हस्तान्तरण भएपश्चात् केन्द्रलाई मुटुसम्बन्धी उपचारका लागि आवश्यक उपकरण र थप पूर्वाधारको विकास गरेर सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक समन्वय गरेर काम थाल्ने बैठकमा मन्त्री पौडेलले बताए ।
“विशिष्टीकृत रोगको उपचार हाम्रो दायित्व हो”, मन्त्री पौडेलले भने, “सातै प्रदेशमा मुटु रोगको उपचारका लागि हामीले कार्यक्रम थालिसकेका छौँ । कोशी प्रदेशमा स्थापित केन्द्रलाई सबल बनाएपछि प्रदेशलाई हस्तान्तरण गरिनेछ ।”
गत महिना विराटनगरमा केन्द्रको निरीक्षण गरेका मन्त्री पौडेलले प्रदेश मातहत विकासमा मन्त्रालयलाई जटिलता रहेको भन्दै संघ मातहत जिम्मेवारी प्राप्त भएमा स्तरोन्नतिका लागि उपकरणसहितका पूर्वाधार तयार पार्ने घोषणा गरेका थिए ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले संघ सरकारलाई स्तरोन्नतिका लागि आग्रहसहित निश्चित अवधि हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाए । प्रदेशबाट निर्णय भएर आए लगत्तै मन्त्रालयले स्तरोन्नतिको काम थाल्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।
मन्त्री पौडेल अध्यक्ष रहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले सातै प्रदेशमा मुटुसम्बन्धी उपचार सेवा विस्तार गर्ने निर्णय गरिसकेको छ । बाँकी प्रदेशमा उपचार विस्तारका लागि काम अघि बढाउने मन्त्री पौडेलको योजना रहेको सचिवालयले जनाएको छ ।







