विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानीरीक्षक (डीआईजी) चन्द्र कुबेर खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताएका छन् ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको ५८औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उनले हालको तालिम प्रक्रिया परिस्कृत गर्नुपर्ने धारणा राखे । सूचना प्रविधिको प्रयोग प्रहरी तालिममा प्रयोग गर्नुपर्ने उनले बताए ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरका प्रमुख अभिनारायण काफ्लेको अध्यक्षतामा सम्पन्न सो समारोहमा ‘प्रहरी जवान’ नामक स्मारिका विमोचन गर्नुका साथै विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।







