काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा आफ्नो नाम जोडेकोप्रति आपत्ति जनाएका छन् ।
झापामा आयोजित माओवादीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सो जग्गा प्रकरणमा आफ्नो नाम जोड्नु भनेको बेइमानीपूर्ण कुरामात्रै भएको बताए ।
उनले भने, ‘अहिले अनौठो प्रचार भइरहेको छ । १२(१५ वर्षअघि पार्टी छाडिसकेको व्यक्तिको जग्गाको विषयलाई ल्याएर माओवादीसँग बसेको मान्छेको जग्गा रहेछ यो भनेर नुवाकोटको शेरा दरबारको कुरा ल्याइएको छ । योभन्दा लाजमर्दो र बेइमानीपूर्ण कुरा केही हुनै सक्दैन ।’
प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानको क्रममा आफ्नै पार्टीका नेताहरू देखिए पनि छुट दिने पक्षमा आफू नरहेको र नदिएको पनि दाबी गरे ।
उनले भने, ‘मैले सीआईबी र अनुसन्धान टोलीलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै आए पनि नछाड्नुस् भनेको थिएँ । त्यस्तो भन्ने पहिलो प्रधानमन्त्री म नै हो, तर यी भ्रष्टहरू आफ्नो भ्रष्टाचारीले कुरूप बनेको अनुहार ढाकछोप गर्न झुटा प्रचारको गर्दैछन् । म सरकारलाई चुनौती दिन्छु, शेरा दरबारको जग्गा सरकारको हो भने तुरुन्तै सरकारको नाममा ल्याऊँ, मेरो पूरै साथ हुन्छ, तर झूटो प्रचार गरेर बेइमानी नगर ।’