काठमाडौँ । परम्परागत र मौलिक खानाका उत्पादकहरूलाई व्यावसायिकता, गुणस्तर र स्वच्छता सम्बन्धी तालिम प्रदान गर्न काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, कृषि तथा पशुपन्छी विभागलाई निर्देशन दिएकी छन् ।
आज महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरी र विभागका प्रमुख नुरनिधि न्यौपानेसँग अनुगमन प्रणाली अद्यावधिक गर्ने, आधारभूत खाद्य जाँचका लागि महानगरपालिका आफैँले प्रयोगशाला निर्माण गर्ने, खाद्य सुरक्षाका लागि दिइने तालिमको प्रक्रिया र पाठ्यक्रम तर्जुमा गर्नेलगायत विषयमा कुरा गर्दै उनले मौलिक खानाको व्यावसायिक प्रवर्धनका लागि तालिम दिनु पर्ने बताएकी हुन् ।
‘जात्रा, पर्व, संस्कार, संस्कृति तथा मौसम र कामअनुसार खानाका प्रकृति फरक फरक छन् । ‘समयवजी, यमरी, ग्वारमरी, लखामरी, चटामरी, जेरीस्वारी जस्ता कलात्मक र पौष्टिक खाना बनाउने सिप भएका महिलाहरूलाई व्यावसायिक ज्ञान दिन सकियो भने हातमा भएको खाना बनाउने सिप आयआर्जन गर्ने पेसा बन्न सक्छ ।’ उनले भनिन्, ‘व्यावसायिक उत्पादन नभएका तर जनजिव्रोमा परिचित स्वादका कारण व्यावसायिक बस्तुका रूपमा उत्पादन गर्न सकिने बस्तुलाई प्रवर्धन गराउनुपर्छ । यसका लागि माः पुचःहरुले आफ्नै प्रयासमा काम गरिरहेका छन् । यस्तै बुहारी, छोरीहरूका पनि आफ्नै समूह छन् । यस्तै मेला तथा भेलाहरूमा परम्परागत खाद्य सेवा प्रदान गर्ने समूह छन् । यस्ता स्थानीय समूहलाई व्यावसायिक सिप प्रदान गर्नुपर्छ ।’
छलफलमा विज्ञ सल्लाहकार लामा र सल्लाहकार गिरीले, स्वचालित प्रणालीबाट गुणस्तर नियमन र व्यावसायिक प्रवर्धनमा नतिजा हासिल गर्न सकिने धारणा राखे ।
विभागका प्रमुख न्यौपानेका अनुसार खाद्य पदार्थको गुणस्तर मापन सम्बन्धी आधारभूत पक्ष हेर्ने क्षमता भएको प्रयोगशाला निर्माण सम्पन्नताको चरणमा पुगेको बताए ।
छलफलमा एग्रो पुलिङ् कार्यक्रम कार्यान्वयनमा योजना, बजार अनुगमनको प्रक्रिया, यसबाट प्राप्त भएका नतिजा तथा सुधारका पक्ष, अन्तर विभाग सञ्चार तथा समन्वयात्मक कार्यक्रमका बारेमा कुराकानी भएको थियो ।
महानगरपालिकाले स्वच्छ खाद्य सेवाका लागि व्यवसायीहरूलाई क्षमता विकास तालिम प्रदान गरिरहेको छ । चालु आर्थिक वर्षको सुरुमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिएर पहिलो संस्करणको तालिम समापन गरेको थियो । दोस्रो संस्करणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम प्रदान गरियो । दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यवस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो । यसका लागि २११ जनालाई बोलाइएकोमा १६२ जना सहभागी हुनुभएको थियो । होटेल, व्याङ्क्वेट र क्याटरिङ् सेवाका व्यवसायीलाई दिइएको चौथो संस्करणको तालिममा ३६६ जना सहभागी हुनुभयो । यसरी प्रदान गरिएका तालिमहरूमा अहिलेसम्म १ हजार १४९ जना व्यवसायीलाई तालिम प्रदान गरिसकिएको छ ।
तालिम ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रमअन्तर्गतको हो । स्वच्छ खाना : उत्कृष्ट व्यापार (सेफर फुड : वेटर बिजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ ।







