सर्लाही । उप-प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार दिगो विकास र स्थायित्वको लागि बनेको बताएका छन् ।
जिल्लाको हरिपुर नगरपालिकामा सहरी विकास मन्त्रालयद्वारा निर्मित व्यावसायिक भवनको शनिबार (आज) उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले जनताका आवश्यकता र आकांक्षा वर्तमान सरकारले नै पूरा गर्ने बताउँदै तीनै तहको सरकार मिलेर काम गर्नु पर्ने बताए ।
उनले भने, ‘यो सरकार दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेसहित अन्य दल समेत मिलेर बनेकोले यही सरकारले विकास निर्माणको कामलाई दिगो ढंगले अघि बढाइरहेको छ ।’ उनले उनले यो सरकार बन्नु अघि नै बजेट निर्माण भइसकेकाले कतिपय स्थानीय तहका मागलाई सम्बोधन गर्न कठिनाई भइरहेको बताए । उनले भने,‘हामी प्रसायरत छौँ, नभए आगामी बजेटमा भए पनि स्थानीय तहहरूबाट आउने मागहरूलाई सम्बोधन गछौँ।’
उनले हरिपुर नगरपालिकाको आर्थिक समृद्धिमा नवनिर्मित भवन महत्त्वपूर्ण हुने बताउँदै नवनिर्मित भवनको सञ्चालन, व्यवस्थापन र संरक्षणमा नगरपालिकाले ध्यान दिनु पर्नेमा जोड दिए । जुन प्रयोजनको लागि भवन निर्माण भएको हो सोही प्रयोजनको लागि काम गरेर नगरको आर्थिक उन्नतिमा काम गर्न आग्रह गर्दै बैंक, वित्तीय संस्था, साना व्यवसायीका भवन उपयोगी हुने उनले विश्वास व्यक्त गरे ।
भवन बनाउँदा निर्माण व्यवसायीहरूबाट ढिलासुस्ती हुने गरेकोमा हरिपुर नगरपालिकाको यो व्यावसायिक भवन समयमै निर्माण सम्पन्न गरेको भन्दै निर्माण व्यवसायीहरू समेत धन्यवादको पात्र भएको बताए ।
निर्माण व्यवसायी कम्पनी श्री बज्र गुरु/एक्सिस एसिएम जेभी जनकपुरले सो व्यावसायिक भवन र हजार बिघा चोकदेखि हरियाली माई स्थानसम्मको ३.५ किलोमिटर अस्फाल्ट बाटो (कालोपत्रे) निर्माण गर्न २०८१ साउन २५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिइएकोमा निर्माण कम्पनीले एक महिना अगावै अर्थात् २०८१ असार २० गते नै निर्माण सम्पन्न गरेको थियो ।
भवन र कालोपत्रे गरी कुल १३ करोड ३८ लाख ३२ हजार ४ सय चौरासी रुपैयाँ ३२ पैसामा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हरिपुर नगरपालिकाले जनाएको छ ।
नवनिर्मित व्यवसायीक भवनको भुईँ तल्लामा १४ ओटा व्यापारिक सटर र महिला पुरुष र अपांगमैत्री शौचालय, पहिलो तल्लामा १४ओटा व्यापारिक सटरसहित महिला पुरुष शौचालय र माथिल्लो तल्लामा ४ ओटा च्याम्बरसहित महिला पुरुष शौचालय गरी तीन तल्ले भवन ईलेक्ट्रीकल सेनेटरी स्टलेशनसहित सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको छ ।
खुद्रा व्यापारका लागि पसलहरू र डिपार्टमेन्ट स्टोर सञ्चालन गर्ने, थोक व्यापारका लागि गोदाम र थोक विक्रेता स्टलहरूको व्यवस्थापन, सेवा व्यवसाय अन्तरगत वित्तीय संस्थाहरू वीमा कम्पनीहरू र अन्य सेवाका कार्यालयहरूलाई भवन भाडा लगाउने, खाद्य तथा पेय व्यवसायका लागि रेष्टुरेण्ट, क्याफे र फुडकोर्टहरु सञ्चालन गर्ने नवनिर्मित बहुउद्देश्यीय व्यावसायिक भवनको उद्देश्य रहेको हरिपुर नगरपालिकाका मेयर गोपाल पंंजियारले जानकारी दिए ।
भवनको उद्घाटन कार्यक्रममा नगर प्रमुख पंजियारले लखन देही नदीमा पुल निर्माणसहित विभिन्न परियोजनाहरूको निर्माणका लागि सहयोग गरिदिन मन्त्री सिंहसँग आग्रह गर्दै योजनाको फाइल हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, पूर्वमन्त्री एवम् नेपाली काँग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंह, संविधानसभा सदस्य रामचन्द्र चौधरी र शम्भुलाल श्रेष्ठ, मधेश प्रदेशसभा सदस्य जंगीलाल राय, जिसस सभापति कौशल किशोर सिंह, काँग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण राय, वर्तमान उपसभापति नवीन अधिकारी, काँग्रेस नेता विनोद खनाल र विभिन्न पालिकाका प्रमुख तथा स्थानीयको उपस्थिति रहेको थियो ।