काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा राष्ट्रिय निकुञ्जको जमिन भारतीय नागरिकले भोगचलन गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरीमाथिको छलफलका क्रममा नेकपा एमालेका सांसद रघुजी पन्तले त्यस विषयमा ध्यानाकर्षण गराएपछि उनले सरकारको ध्यानाकर्षण भएको जनाएका हुन् ।
गृहमन्त्री लेखकले एमाले सांसद पन्तले ध्यानाकर्षण गराएको विषयमा जवाफ दिँदै भने, ‘कञ्चनपुरमा भारतीय नागरिकले भोगचलन गरेकोमा सरकारको ध्यानाकर्षण भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन भारतीयले भोगचलन गरिरहेको विषयमा सरकार जानकार छ । जिल्लामा रहेका सुरक्षा निकाय, राष्ट्रिय निकुञ्जलगायतबाट जानकारी प्राप्त भएको छ । यसका बारेमा छलफल पनि गरेका छौँ । भारतीय नागरिकले हाम्रो भूभागमा खेतीपाती गरेका छन् ।’
गृहमन्त्री लेखकले सीमाको विवाद नरहेको, तर एउटा पिल्लर राख्नुपर्ने अवस्था आएको र त्यसका लागि कूटनीतिक पहल भइरहेको जानकारी गराए ।
उनले भने, ‘सीमाको त्यति विवाद छैन । यसमा एउटा पिल्लर राख्नुपर्ने रहेछ । दुवै देशको सहमतिमा राख्नुपर्ने भएकाले दुवै देशका बिचमा छलफल भइरहेको छ । सहमति गरेर नै राख्ने संयन्त्रको पनि ध्यानाकर्षण गराइएको छ । आफ्नो भूमिको सिमानाको रक्षा गर्न सरकार कटिबद्ध छ, यस किसिमले मित्र राष्ट्र भारतका नागरिकले भोगचलन गर्ने विषयमा कूटनीतिक पहलबाट समाधान गर्छौँ, यसमा सरकार गम्भीर छ ।