काठमाडौँ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ बस्ने हरिस लुहारका छोरा ७ वर्षीय ज्ञानेन्द्र अज्ञात रोगले थलिएका छन् । जन्मजात नै अज्ञात रोगले ग्रसित भएका ज्ञानेन्द्र प्रसिद्ध धाम बनारसी देउताका मूल (धामी) पुजारी झुले लुहारका नाति हुन् ।
ज्ञानेन्द्रका बुवा हरिसका अनुसार उनी जन्मदेखि अज्ञात रोगका कारण हिँड्न र बोल्न समेत सक्दैनन् । लामो समय स्थानीय स्वास्थ्य संस्थाहरू र अन्य विभिन्न घरेलु उपचार गरे पनि रोगको केही पत्तो लागेन । आर्थिक अवस्था कमजोर भएका हरिस ज्ञानेन्द्रको उपचार हुने आसमा काठमाडौँमा आएर विगत सात महिना देखि काठमाडौँको कान्ति बाल अस्पताल हुँदै अन्नपूर्ण निउरो अस्पतालमा उपचार गराइरहेका छन् ।
स्वास्थ्यमा केही सुधारको आशा देखिए पनि अझै सन्चो नभएकोले ७ वर्षीय बालक ज्ञानेन्द्रको थप उपचार भारतमा गर्नु पर्ने भनी चिकित्सकहरूको सल्लाह दिएका हरिस बताउँछन् ।
‘स्वास्थ्यमा केही सुधारको आशा देखिएको छ, तर पनि अझै सन्चो भएको छैन, ‘उनी भन्छन्,‘ थप उपचार भारतमा गर्नु पर्ने भनी चिकित्सकहरूको सल्लाह दिएका छन् ।’
बोर्डिङ स्कुलमा शिक्षण गरी जीविका चलाइरहेका हरिसले छोराको उपचारका लागि गत भदौ महिनाबाट रोजगारी पनि गुमाए । आर्थिक अवस्था कमजोर भएका हरिसले अस्पताल चहार्दा चाहर्दै ज्ञानेन्द्रको उपचार हुने आसले सम्पूर्णमा सहयोगको याचना गरिरहेका छन् ।
‘स्कुलमा काम गरेर जेनतेन जीविका चलिरहेको थियो, अव छोराको उपचारका लागी अस्पताल धाइरहेको छु, ‘उनले भने, ‘अब त कोठा भाडा तिर्न पनि गाह्रो भइसकेको छ ।’
उपचारमा संलग्न डाक्टरका अनुसार रोगको पहिचानका लागी रगत परीक्षण गर्न भारत पठाउनुपर्ने भएको छ । रगत परीक्षण गरी रोग पहिचान गर्न लाखौँ रुपैयाँ खर्च लाग्ने डाक्टरले बताएको हरिस बताउँछन् । ‘अज्ञात र उपचारमा धेरै नै खर्च लाग्ने देखिएको छ, ‘उनले भने, ‘रगत जाँचको लागि पनि पैसा छैन । डाक्टरले परीक्षणका लागि रगत स्वाबहरू भारत पठाउनु पर्ने भनेको छ अझ उपचार कति गर्नुपर्ने हो, कति खर्च लाग्ने भन्ने कुनै निश्चितता छैन ।’
७ वर्षीय ज्ञानेन्द्रको उपचारमा समस्या त छदै छ, ९ महिने छोरीमा समेत सोही लक्षण देखिएपछि झन् चिन्ता थपिएको हरिस बताउँछन् । ‘यो पिडा त छदै छ, त्यहीँ माथि ९ महिना कि छोरीमा पनि त्यस्तै प्रकृतिको समस्या देखा परेको छ, ’उनले भने, छोराको उपचार गर्न नै सहयोग मागिरहेको छु छोरीमा सेम लक्षण देखिएपछि झनै गाह्रो भएको छ ।’
पिडा माथि पिडा थपिएपछि हरिसको परिवार नै अहिले आर्थिक समस्यासँग जुधिरहेको छ भने छोरा छोरीको उपचारमा आर्थिक सहयोग गरिदिन हारगुहार गरिरहेको छ ।
सबैले आर्थिक सहयोग गरे समयमै उपचार भएपछि ७ वर्षीय छोरा ज्ञानेन्द्र र ९ महिने छोरीको जीवन जोगिने लुहार परिवारको विश्वास छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भइरहेको छ ।
उनले भने, ‘छोरा छोरीको यस्तो रोगको सिकार भई जीवन बर्बाद हुनबाट रक्षा गर्न सकेको स-सानो आर्थिक सहयोग गरी मानवताको धर्म निभाउन हुन सबैलाई अनुरोध गर्दछौँ ।’
सम्पूर्ण सहयोगीहरूलाई आफूले सकेको सानो सहयोग गरेर छोराछोरीको जीवन बचाइदिन परिवारले अपिल गरेको छ ।
सहयोग गर्न चाहने सहयोगीहरूले हरिस लुहारको नाममा रहेको कृषि विकाश बैंकको खाता नम्बर ०८२३९०१७६८३९६०११ मा सहयोग जम्मा गरिदिन अपिल गरिएको छ ।

बिरामीबारे थप जानकारी लिन ९७६६८७२६३२ र बनारसी देवताका धामी झुले लुहारको मोबाइल नम्बर ९८४८८०३००७ मा सम्पर्क गर्न सकिने छ ।







