काठमाडौँ । राष्ट्रिय सभाको महत्त्व ख्याल गर्न सरकारलाई सांसद बामदेव गौतमको आग्रह छ । पछिल्लो समय सरकारलाई अध्यादेश अगाडि बढाउन परिरहेको सकसले राष्ट्रिय सभाको महत्त्व दर्साएको उनको व्याख्या छ ।
‘अध्यादेश दुवै सदनबाट छुट्टाछुट्टै रूपमा अनिवार्य स्वीकृत हुनुपर्छ । महाअभियोग आउँदा पनि राष्ट्रिय सभाको महत्त्व छ । यो सरकारले ख्याल गरोस् भन्ने मेरो सुझाव छ,’ गौतमले भने ।
सरकार निर्माणमा नजोडिएकाले राष्ट्रिय सभाको महत्त्व कम हो कि भन्ने जस्तो व्यवहार हुने गरेको भन्दै उनले खास महत्त्वपूर्ण समयमा राष्ट्रिय सभा चाहिने संवैधानिक व्यवस्था रहेको बताए ।
अध्यादेश सम्बन्धी व्यवस्था संविधानको धारा ११४ मा छ । जहाँ संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने भनिएको छ ।






