म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागु पूर्णिमाका अवसरमा बेनी नगरपालिका-४ सिङ्गा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको छ ।
जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह (ए) ले मङ्गला गाउँपालिका–३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेको छ । यो समूहले खेल जितेर रु. १५ हजार हात पारेको छ ।
जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले “आमाहरूको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलो पटक तातोपानीमा भएको हो”, उनले भनिन्, “खेलकुदमार्फत आमाहरूलाई जागरूक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।”
आमाहरू लुङ्गी, चोलो, कुर्ता सुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रूपमा परिचित तातोपानीमा परम्परागत रूपमा लाग्ने फागु पूर्णिमा मेलालाई यस पटक आमा समूहले निरन्तरता दिएका हुन् ।
मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्ध निशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।







